विश्वभर एकै दिन कोरोनाका एक लाख संक्रमित थपिए, ज्यान गुमाउने दुई लाख नजिक

विश्वभर २८ लाख २६ हजार ८४७ संक्रमित, सात लाख ८१ हजार २५६ जना निको

काठमाडौं । विश्वव्यापी कोरोना (कोभिड–१९) भाइरस संक्रमणको महामारी अझै बढ्दै गएको छ । विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई लाख नजिक पुगेको वल्र्डओमिटरले जनाएको छ । पछिल्लो २४ घण्टामै विश्वभर कोरोना संक्रमणबाट ६ हजार ६४ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ९६ हजार ९८१ पुगेको छ ।

शनिबार बिहान पौने ६ बजेसम्ममा विश्वभर कोरोना संक्रमितको संख्या २८ लाख २६ हजार ८४७ पुगेको छ । शुक्रबार मात्रै एक लाख ३ हजार ६७८ नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये सात लाख ८१ हजार २५६ जना उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा एक हजार ८५८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । योसँगै अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२ हजार ९२ पुगेको छ ।

अमेरिकामा अहिलेसम्म ९ लाख २३ हजार ६१२ जना संक्रमित भएका छन् । शुक्रबार मात्रै अमेरिकामा ३७ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यस्तै लण्डनमा शुक्रबार सात सय ६८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै लण्डनमा ज्यान गुमाउनेको संख्या १९ हजार ५०६ पुगेको छ ।

इटालीमा शुक्रबार ४२० जनाले ज्यान गुमाएपछि त्यहाँ मृतकको संख्या २५ हजार ९६९ पुगेको छ । त्यहाँ संक्रमितको संख्या दुई लाख नजिक पुगेको छ । फ्रान्समा शुक्रबार ३८९ जनाले ज्यान गुमाएका छन् । त्यहाँ अहिलेसम्म मृतकको संख्या २२ हजार नाघेको छ ।

ब्राजिलमा शुक्रबार ३५७ जनाले ज्यान गुमाएका छन् भने स्पेनमा ३६७ जनाले ज्यान गुमाएका छन् । स्पेनमा अहिलेसम्म मृतकको संख्या २२ हजार ५२४ पुगेको छ भने संक्रमितको संख्या दुई लाख १९ हजार ७६४ पुगेको छ ।

यस्तै आयरल्याण्डमा २२०, जर्मनीमा १८५, टर्कीमा १०९, बेल्जियममा १८९, स्वीडेनमा १३१, क्यानाडामा १५५, नेदरल्यान्डमा ११२, इरानमा ९३ जनाले शुक्रबार कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

छिमेकी देश भारतमा गएको २४ घण्टामा ५९ जनाले ज्यान गुमाएका छन् । त्यहाँ अहिलेसम्म मृतकको संख्या ७८० पुगेको छ भने संक्रमित २४ हजार ४४७ पुगेका छन् । त्यहाँ शुक्रबार १४ सय भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

 
 
  
 

You may also like