विश्वभर कोरोनाबाट ज्यान गुमाउने एक लाख ९० हजार नाघ्यो, अमेरिकाको अवस्था झन् ‘खराब’

काठमाडौं । विश्वव्यापी कोरोना (कोभिड–१९) भाइरस संक्रमणको महामारीबाट विश्वमा ज्यान गुमाउनेको संख्या एक लाख ९० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामै कोरोनाबाट विश्वभर ६ हजार ३३१ व्यक्तिले ज्यान गुमाएका छन् । योसँगै आज (शुक्रबार) विहानसम्ममा मृत्यु हुनेको संख्या एक लाख ९० हजार ३९३ पुगेको वल्र्डओमिटरले जनाएको छ ।

अहिलेसम्म विश्वभर कोरोना संक्रमितको संख्या २७ लाख १४ हजार ९९५ पुगेको छ । बिहीबार मात्रै ८३ हजार २१९ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये सात लाख ४४ हजार ९६१ जना उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा दुई हजार ९५ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४९ हजार ७५४ पुगेको छ ।

अमेरिकाले कोरोना संक्रमण नियन्त्रणका लागि विभिन्न प्रयास जारी राखे पनि यहाँ संक्रमित हुने र मृत्यु हुनेको संख्यामा कमी आउनुको सट्टा झनझन अवस्था खराब बन्दै गएको छ ।
अमेरिकामा अहिलेसम्म ८ लाख ७८ हजार ९७४ जना संक्रमित भएका छन् ।

बिहीबार मात्रै अमेरिकामा ३० हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यस्तै लण्डनमा बिहीबार ६३८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै लण्डनमा मृतकको संख्या १८ हजार ७३८ पुगेको छ ।

फ्रान्समा बिहीबार ५१६ जनाले ज्यान गुमाएका छन् । त्यहाँ मृतकको संख्या २१ हजार ८५६ पुगेको छ । त्यसैगरी इटालीमा बिहीबार ४६४ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ हजार ५४९ पुगेको छ ।

यता स्पेनमा बिहीबार ४४० जनाले ज्यान गुमाएका छन् । त्यहाँ अहिलेसम्म मृतकको संख्या २२ हजार १५७ पुगेको छ । त्यहाँ संक्रमितको संख्या दुई लाख १३ हजार नाघेको छ ।

ब्राजिलमा बिहीबार ४०७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या झण्डै ५० हजार पुगेको छ। त्यसैगरी बिहीबार जर्मनीमा २६०, बेल्जियममा २२८, टर्कीमा ११५, क्यानाडामा १७३, मेक्सिकोमा ११३, नेदरल्याण्डमा १२३, इरानमा ९० र स्वीडेनमा ८४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

हाम्रो छिमेकी देश भारतमा गएको २४ घण्टामा ४० जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । भारतमा अहिलेसम्म मृतकको संख्या ७२१ पुगेको छ भने संक्रमित २३ हजार ३९ पुगेका छन् । त्यहाँ बिहीबार एकै दिन एक हजार ६६९ नयाँ संक्रमित थपिएका छन् ।

 
 
  
 

You may also like