राज्य गम्भीर नबन्दा लकडाउनले किसानलाई सडकमै ल्याउने भय

रोगले भन्दा शोकले मार्ने चिन्ता

  • नारायण वली

बुटवल । साना किसान कृषि सहकारी संस्थाको ऋण लगानीमा कर्जा लिई गाईपालन गरेर आफ्नो परिवारलाई राम्रैसंग पाल्छु भन्ने सोचले गाईपालनमा होमिएका बुटवल स्थित सेमलारका गोपाल पौडेल अहिले निकै चिन्तित बन्न पुगेका छन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको प्रभाव जटिल बन्दै भएपछि सरकारले उक्त जोखिमबाट बच्नका लागि देशैभर लकडाउनको घोषणा गरेको शुक्रबार २५ औं दिन पुगेको छ ।

जसका कारण सबै साना तथा ठूला उद्योग, कलकारखाना बन्द हुँदै आएका छन् ।

सरकारले लकडाउनको अवधिमा अत्यावश्यक सवारीहरुलाई निर्वाध रुपमा चल्न दिने भनिए पनि दुग्धजन्य उद्योग एवं डेरीहरु बन्द हुँदा अहिले किसानहरुले उत्पादन गरेको सयौं लिटर दुध विक्री नभएर खेर जाँदा बुटवल उप– महानगरपालिका वडा नं १६ मा करिव एक हजार गाई तथा भैंसी पालक किसानहरु चिन्तित बन्न पुगेका छन् ।

एकातिर दूध विक्री नभएर मारमा परेका किसानहरुको पीडा यतिमात्रै नभई अब गाईवस्तुहरुलाई के खुवाएर पाल्ने हो भन्ने विषय जटिल बन्दै गएको किसान पौडेलले बताए ।

उनले भने, ‘खेतमा छरेको घाँस पनि सकियो, संचित गरेको पराल, भुस र दाना पनि सकिन थाल्यो अब के गर्ने होला, पैसा पनि छैन, दूध विक्री छैन । दानावालाले उधारो दिँदैन यो निकै संकटताको भुमरी परियो ।’

यस्तो पीडा सुनाउने वसुन्धरा कृषि फर्मका किसान पौडेल एक उदाहरण पात्र मात्रै हुन् । उनी जस्ता सहकारीबाट ऋण लिएर व्यवसायिक गाईपालन गरेका सोही फर्मका अरु ९ सय ९९ जनाको पीडा कम्ती छैन ।

दोस्रो पटक थपिएको लकडाउनमा बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मी लगायतकाहरुको अगाडि स्थानिय खोलामा दूध पोख्न वाध्य भएका किसानहरु किसानका लागि राज्य गम्भिर नबन्दा साना किसान सहकारी संस्थाबाट कर्जा लिएर सञ्चालन गरिएको व्यवसायिक गाईपालनले कतै रोडपति बनाउने त होईन भन्ने भयले स्तव्ध वनाएको दुखेसो पोखेका छन् ।

दैनिक ५ हजार ५ सय दूध उत्पादन गर्ने किसानहरुको दूध खरिद गर्ने उद्योगहरु बन्द हुन पुगेपछि उनीहरु मर्कामा पर्दै आएका छन् ।

साथै किसानहरुको दैनिक ३ लाख २४ हजार ५ सय रुपैयाँको दूध नोक्सान हुँदै आएको अर्का किसान शशिकान्त चौधरीले बताए ।

यस्तै गाईपालनका लागि स्थानिय व्यक्तिहरुलाई साना किसान सहकारी संस्था सेमलारले २० करोड रुपैयाँ लगानी गरेको वताएको छ ।

 
 
  
 

You may also like