एउटै टहरामा डायलाइसिस गर्ने १२ बिरामी : न छाक टार्न माम छ, न त औषधि किन्ने दाम

काठमाडौं। काठमाडौंको वनस्थलीस्थित राष्ट्रिय मिर्गौला उपचार केन्द्रछेवैको सानो टहरामा एक दर्जन मिर्गौला बिरामीको वास छ ।

शनिबार उनीहरू आँगनमा साँझपखको घाम तापिरहेका थिए । अधिकांश बिरामीको अनुहार सुन्निएको छ । साताको दुईपटक गरेर आठ घण्टा नियमित डायलाइसिस गर्नुपर्ने उनीहरूले लकडाउनपछि चार घण्टा मात्रै सेवा पाइरहेका छन्, जसले गर्दा रोगले च्याप्दै गएको छ । बिरामीका कुरुवा र परिवारका सदस्यलाई यसले थप पिरोलेको छ ।

यिनैमध्येकी एक हुन् रुकुम ज्यामिरकोटकी मीना मल्ल । १४ वर्षीय छोरो गणेशको नियमित डायलाइसिस गराउन उनी दुई वर्षदेखि श्रीमान्सँगै यहाँ बसिरहेकी छिन् । गणेशको एउटा मिर्गौला काम नलाग्ने भएपछि यसअघि नै निकालिसकिएको छ ।

बचेको अर्को मिर्गौला डायलाइसिसको भरमा चलेको छ । तर, लकडाउनयता डाइलाइसिस सेवा पनि आधा मात्रै पाउन थालेपछि आमा मीनाको मन अत्तालिएको छ । ‘कोठाबाट बाहिर निस्कन पनि मन लाग्दैन । न निद्रा लाग्न, न खाना रुच्छ । चिन्ताले मन मात्रै आत्तिएको छ,’ उनले भनिन् ।

मीनाका छोरालाई दुई वर्षअघिको फागुनमै मिर्गौलाको समस्या देखिएको थियो । तर, मेसो पाइनन् । श्रीमान् परु मल्ल रोजगारीका लागि भारतमा थिए । गाउँमा भएजति धामी, झाँक्री सबैलाई देखाइन्, तर उनीहरूले सन्चो बनाउने सम्भवै थिएन ।

रोगले च्याप्दै गएपछि एक रात त उनका छोरा बेहोस नै भए । ‘रातिको २ बजे छोरो बेहोस भएर मरेजस्तै भयो,’ मीनाले सम्झिइन्, ‘मसँग मोबाइल त थियो, तर अरूको नम्बर लगाउन जान्दिनँ थिएँ । त्यो रात छटपटाएरै बितायौं । अर्को बिहान छोरालाई तीन घन्टा बोकेर गाडी चढ्ने ठाउँसम्म ल्याएर नेपालगञ्ज अस्पताल पुर्‍याएँ ।’

त्यहींबाट सुरु भयो मीनाको छोरो बचाउने संघर्षको यात्रा । नेपालगञ्ज अस्पतालले काठमाडौं रेफर गरेपछि शिक्षण अस्पताल पुगिन् । करिब एक महिना आइसियूमा राखेपछि गणेशलाई होश आयो ।

छोराले आँखा खोलेपछि मीनाको मन पनि केही हलुँगो भयो । तर, उनको खुशी धेरैबेर टिकेन । डाक्टरले ‘छोराको दुवै मिर्गौला खराब छ, एउटा त झिकेर फाल्नुपर्छ, अर्को फेर्नुपर्छ’ भनेपछि उनी छाँगाबाट खसेझै भइन् ।

मीनासँग डाक्टरले सुझाएको नगर्नुको विकल्प पनि थिएन । जेनतेन एक लाख २५ हजार ऋण काढेर छोरोको बिग्रेको मिर्गौला फालिन् । ‘भएको पैसा नेपालगञ्ज र काठमाडौंमा उपचार र आउजाउ गर्दैमा सकिइसकेको थियो,’ मीना दुस्खको फेहरिस्त सुनाउँछिन्, ‘हारगुहार गरेर छोराको एउटा मिर्गौला फाल्न ऋण काढेरे पैसा जम्मा गर्‍यौँ ।’ अर्को चुनौती अझै पहाडझै अगाडी नै थियो, मृगौला प्रत्यारोण गर्न पैसाको जोहो गर्नु ।

त्यसयता मीनादम्पतीको बसाइ काठमाडौंमै छ । लकडाउन नभएको भए उनीहरू अहिले छोराको मिर्गौला प्रत्यारोपणका लागि पैसा ऋण खोज्न संघर्ष गरिरहेकी हुन्थे । डाक्टरले मीनाको मिर्गौला छोरालाई दिन मिल्ने बताइसकेका छन् ।

मिर्गौला दानका लागि सबै जाँच पनि भइसकेको छ । कुरा पैसामा अड्किएको छ । डाक्टरले मिर्गौला प्रत्यारोपण गर्न सात–आठ लाख खातामा ठिक्क पारेर आउनु भनेका छन् । त्यत्रो रकम जुटाउन मिनालाई त्यसै महाभारत छ । झन लकडाउनले छोरोका ज्यान बचाउने सञ्जिवनी डायलाइसिसमा समेत कमी गरिदियो ।

घरीघरी यही लकडाउनले छोरोको स्वास चुँडाउने त होइन भनेर मीनाको मन पोलिन्छ । ‘पैसा नभएर अप्रेसन त रोकिएकै थियो, यो लकडाउनले अरू सबै पनि रोक्यो,’ उनले भनिन्, ‘अहिले हामी छोरोको मृत्यु कुरेर बसेका जस्तै भएका छौँ, यस्तो पीडा कुनै आमा–बुबाले सहनु नपरोस् ।’

छोरोलाई मिर्गौला दिन परु पनि तयार थिए । तर, मीनाले मानिनन् । उनको तर्क थियो, ‘श्रीमानले मिर्गौला दियो भने उनी कमजोर हुन्छन्, कमाउन सक्दैनन् । बरु मैले दिएँ भने श्रीमानले कमाएर केटाकेटी त पाल्छन् ।’

मिनाका श्रीमान् परु इँटा, बालुवा बोक्ने काम गर्छन् । त्यसबाट आएको पैसाले छोरोको डाइलाइसिस र औषधिको जोहो गर्थे, कोठाभाडा तिर्थे र परिवारको छाक टार्थे । तर, लकडाउनले उनको मजदुरी पनि रोकियो, आम्दानी शून्य भएको छ ।

यो दम्पतीलाई अहिले सबैभन्दा पिरलो पैसाको अभावमा छोरोको सास रोकिन्छ कि भन्ने छ । ‘औषधि खान नपाएर यही बेला मेरो बाबु जान्छ कि झै लाग्छ,’ घाँटीमै अड्किन्छ मीनाको आवाज, ‘माया मानी पनि क्या गर्नु ? पैसा नभई बचाउन नसकिने रै’छ, हामीसँग पैसा छैन ।’

मीनाका अनुसार प्रत्येकपटकको डायलाइसिसमा एक हजार ५० रुपैयाँको सुई किन्नुपर्छ । एक महिनामा दुई हजार पाँच सयजतिको औषधि चाहिन्छ । लकडाउन छिटो खुले श्रीमान्ले काम पाउँथे र छोराको डायलाइसिस र औषधिको जोहो हुन्थ्यो भनेर मीना लकडाउन खुलोस् भन्दै प्रार्थना गर्छिन् । वरिपरी उनको प्रार्थना सुन्नेहरू पनि उनीजस्तै पीडित मात्रै छन् ।

जीवनमा आइपरेको दर्दनाक पीडाको यो अवस्थाका लागि उनी वेलावेला भाग्यलाई सराप्छिन् । ‘जीवनमा सागर पर्‍या जस्तो भो । छोराको भाग्य यत्ति रहेछ भनेर माया मार्नु त होला नि अब !’ मीना भक्कानिन्छिन् । तर, आमाको मन कहाँ यसरी मान्छ र ! सम्हालिँदै फेरि हामीलाई नै सोध्छिन्, ‘साँच्चै कहिले खुल्छ होला यो लकडाउन ?’

मीनालाई कहिलेकाहीँ लाग्छ– फेसबुक चलाउन जानेको भए, त्यसमा सहयोगको याचना हाल्थे । उनले नयाँ पत्रिकासँग भनिन्, ‘लौ न हजुर मेरो छोरोलाई सहयोग गर्दिनुहोस् भनेर लेख्दिनुस्, कतैबाट कोही भगवान् भेटिइहाल्छन् कि ?’

एम्बुलेन्स नपाएर मिर्गौला बिरामीको मृत्यु

बिरामीले डायलाइसिस सेवा कम पाएका मात्रै होइनन्, उपचार नपाएर ज्यानसमेत गुमाएका छन् । नयाँबजार बस्दै आएका छवि गुरुङले त्यस्तै नियति भोगेका छन् ।

लकडाउनको तेस्रो दिन १३ चैतको बिहान पौने ७ बजे छविकी पत्नी हेमकुमारी वनस्थलीको मिर्गौला उपचार केन्द्र पुगेर श्रीमानको डायलाइसिस गर्न नाम दर्ता गरिन् । १२ बजे पालो आउने भयो । घरबाट हिँड्नुअघि उनले श्रीमानलाई उसिनेका अन्डा खाजा दिएर आएकी थिइन् ।

कोठा फर्केर श्रीमान्का लागि जाउलो पकाइन् । नियमित खानुपर्ने औषधि खुवाइन् । करिब साढे नौ बजे खाना खाइवरी उनीहहरू हिँड्दै अस्पताल जाने तयारी गर्न थाले । छविले गत कात्तिकदेखि डायलाइसिस गराउँदै आएका थिए । हप्तामा दुईपटक डायलाइसिस गर्नुपथ्र्यो । हरेकपटक उनीहरू नयाँबजारस्थित कोठाबाट हिँडेरै अस्पताल जान्थे ।

तर, त्यो दिन भने अस्पताल जान ठिक्क भएका छवि कोठामै तीनपटक ऐया ! ऐया ! गरेर ओछ्यानमै ढले । हेमकुमारीले आत्तिँदै एम्बुलेन्स बोलाउन वनस्थलीकै मिर्गौला उपचार केन्द्रमा फोन गरिन्, तर छैन भन्ने जवाफ पाइन् । त्यसपछि डायलाइसिस कार्डमा लेखिएका एक दर्जनभन्दा बढी अस्पतालमा फोन गरिन् । तर, कतैबाट पनि एम्बुलेन्स पाइएन ।

‘कोठामा एक्लै थिएँ । सुरुमा वनस्थलीमा फोन गरेँ । त्यहाँ एम्बुलेन्स छैन भन्यो । बिहान मैले त्यहीँ एम्बुलेन्स देखेकी थिएँ,’ हेमकुमारीले भनिन्, ‘त्यसपछि अरू धेरै अस्पतालमा पनि गरें, तर कसैले पनि एम्बुलेन्स छ भनेनन् । सबले छैन मात्रै भने ।’

श्रीमान् पीडामा छटपटाइरहेका थिए । एक हातले श्रीमानलाई मुसार्दै अर्को हातमा मोबाइलबाट हेमकुमारीले सम्भव भएसम्म सवारी खोज्न कोशिस गरिन् । तर, एम्बुलेन्स मात्रै होइन, ट्याक्सी र मोटरसाइकलको जोहोसमेत भएन । अन्तिममा उनले प्रहरीलाई फोन गरिन् । ‘पुलिसले हाम्रो गाडीमा बिरामी बोक्न मिल्दैन भनेर अर्कै नम्बर दियो,’ हेमकुमारीले भनिन् ।

१२ बजेतिर एउटा आफन्तले ट्याक्सी खोजेर ल्याइदिए । श्रीमानलाई ट्याक्सीमा राखेर सुमेरु सिटी अस्पताल पुगिन् हेमकुमारी । ‘अस्पताल र्पुयाएपछि डाक्टरले तपाईंको मान्छे छैन भन्यो, समयमै लान सकेको भए बाँच्थे होलान्,’ उनी भावुक बनिन्, ‘तीन घण्टासम्म खोज्दा एम्बुलेन्स पाइएन । एम्बुलेन्स त थियो होला नि, तर, हामी गरिबलाई कसले मान्छे गन्छ र ?’ नयाँ पत्रिका दैनिकबाट

 

 
 
  
 

You may also like