एजेन्सी । चीनमा कोरोना भाइरसका बिरामी फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घन्टामा ६३ जनामा नयाँ संक्रमण देखिएको छ । चीनले बुधबार झण्डै दुई महिनापछि लकडाउन हटाएको थियो । पछिल्लो १५/२० दिनमा चीनमा धेरै एसिम्टोम्याटिक संक्रमण फैलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर चिनियाँ सरकारले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार बुधबार चीनमा ६३ जनामा नयाँ संक्रमण देखिएको थियो । चीनको स्वास्थ्य विभागले बुधबार ६३ जनामध्ये ६१ विदेशबाट आएका व्यक्तिमा देखिएको जनाएको छ । दुई जना स्थानीयमै देखिएको छ । चीन सरकारले विशेष सतर्कताकासाथमा वुहानमा बुधबार लकडाउन हटाएको थियो ।
नयाँ संक्रमण धेरै देखिएको दिनमा थप दुई जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय ३५ पुगेको छ । चीनमा अहिलेसम्म संक्रमितको संख्या ८१ हजार पुगेको थियो । अब दोस्रो फेजको कोरोना संक्रमित चीनमा १ हजार १ सय ४ जना रहेका छन् ।
चीनले तीन महिनाको समय लगाएर कोरोना नियन्त्रणमा लिएको थियो । वुहानमा ७३ दिनसम्म लकडाउन गरिएको थियो । पछिल्ला दुईहप्तामा चीनमा नयाँ केस पनि आइरहेका छन् । चिनियाँ स्वास्थ्य विभागले विदेशबाट आउने व्यक्तिमा पछिल्लो समय संक्रमण देखिएको जनाएको छ ।
चीनको वुहानबाटै कोरोना भाइरसको संक्रमण संसारभर फैलिएको थियो । संसारका १५ लाख भन्दा धेरै व्यक्ति यसबाट प्रभावित भएका छन् भने अहिलेसम्म ८८ हजारले ज्यान गुमाइसकेका छन् ।