खाडीका नेपाली फर्काउन अन्योल

काठमाडौं । रोजगारीका लागि खाडीमा रहेका नेपाली स्वदेश फर्कन चाहेपछि सरकार ल्याउने नल्याउने द्धिविधामा छ । कुवेतले अहिले गैर भिसामा बसेका विदेशीलाई सुविधा दिएर घर फर्काउने निर्णय गरेको छ । खाडी मुलुकसहित पश्चिमा एसिया क्षेत्रमा करिब २० लाख नेपाली कार्यरत छन् ।

कुवेत सरकारले अप्रिल महिनाभर विदेशी नागरिकलाई आफूले काम गरेको स्थान र रहनुपरेको कारणसहित जानकारी दिए फर्काउने प्रक्रिया अघि बढाउने जनाएको हो । फिर्ती प्रक्रियाका लागि उसले कामदार पठाउने मुलुकलाई पनि जानकारी दिइसकेको छ ।

कुवेतमा ७० हजार बढी नेपाली कार्यरत छन् । सात हजार भन्दा बढी बिना भिसामा काम गरिरहेको सूचना दूतावासलाई छ । बिना भिसाका नेपालीसहित सबै मुलुकलाई कुवेत सरकारले सुविधा दिएपछि नेपालीले आफूहरुलाई फकाउने वातावरण मिलाउन दूतावासलाई आग्रह गरिरहेका छन् ।

कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले नेपालीसहित सबै विदेशी कामदारलाई दिएको यो अवसर राम्रो भए पनि मुलुकको वर्तमान अवस्थामा कसरी फर्काउन सकिएला भन्ने विषय अध्ययन भइरहेको बताए ।

‘यसबारेमा परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको छु । अन्य मुलुकले लैजाने भनिरहेका छन्’, भण्डारीले टेलिफोनमा भने, ‘हामी नेपालीसँग सम्पर्कमा छौं । छलफल गरिरहेका छौं ।’

फिलिपिन्स, भारतसहितका मुलुकले विमान चार्टर गरी लैजाने तयारी गरेका छन् । नेपालको अवस्था फिर्ता ल्याउने पक्षमा नरहेको जानकारी दूतावासले दिनुपर्ने परराष्ट्रको धारणा छ । अन्नपूर्ण पोष्टबाट

 
 
  
 

You may also like