फर्साटिकर । ६३ अौं राष्ट्रिय सहकारी दिवस २०७६ को अवसरमा शुद्धोधन गाउँपालिकामा क्रियाशील सहकारी संस्थाहरूद्वारा कोरोना महामारीको कारणले लकडाउन हुँदा प्रभावित भएका बिपन्न परिवारलाई वितरण गर्नका लागि खाद्यान्न गाउँपालिकालाई हस्तान्तरण गरेको छ।
बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको महामारीबाट बच्नका लागि नेपाल सरकारले गरेको लकडाउनको कारणले रोजगारी गुमेका, दैनिक ज्यालादारी गरी जीवननिर्वाह गर्ने बिपन्न परिवारलाई राहत बितरण गर्ने गाउँपालिकाको कार्यक्रमलाई सहकारी संस्थाहरूको तर्फबाट सहकार्य गर्दै शुद्धोधन गाउँपालिकामा क्रियाशील २६ वटा सहकारी संस्थाले २ लाख १० हजार बराबरको खाद्यान्न सहयोग गरेका हुन्।
खाद्यान्न हस्तान्तरण कार्यक्रममा बोल्दै शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीले कोरोना भाइरसको महामारीको समयमा गाउँपालिकाले विपन्न परिवारलाई गर्न लागेको राहत वितरणमा सहकारीले गरेको सहकार्यले धेरै खुसी लागेको बताउदै सहयोगका लागि सहकारी संस्थाहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।
जिल्ला सहकारी संघ लिमिटेड रूपन्देहीका कोषाध्यक्ष एवं जिविका बहुउद्देश्यीय सहकारीका अध्यक्ष दामोदर पंगेनीले सहकारी संस्थाहरू जनताका सुख दुखमा साथ दिने संस्था भएकाले स्थानीय सरकारसँग मिलेर महामारी संग लड्ने कार्यमा सहकार्य गरिएको जानकारी दिनुभयो ।
खाद्यान्न हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका सहकारी संस्थाको प्रतिनिधिको रूपमा सेवाग्राही कृषि सहकारीका अध्यक्ष हेम बहादुर राना, गणपति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शिवराम न्यौपाने, साना किसान कृषि सहकारी संस्था मानपकडी अध्यक्ष रामकुमारी चौधरी एवं गाउँपालिकाको तर्फबाट अध्यक्ष किशुनचन्द चौधरी, वडाअध्यक्षहरू विष्णु बस्याल, राजेन्द्र कंडेल, हेमबहादुर खड्का, जयशंकर पाठक र राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष नर बहादुर घर्ती, नेपाली कांग्रेसका सभापति शेर बहादुर काफ्ले, समाजवादी पार्टीका प्रतिनिधिको उपस्थिति रहेको थियो।