अमेरिकामा मृत्यु हुनेको संख्या ५ हजार नाघ्यो : एकैदिन १ हजार बढीको मृत्यु, संक्रमित २ लाख बढी

काठमाडौं। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ (कोरोना भाइरस)का कारण अमेरिकामा मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ हजार १०२ पुगेको छ ।

चीनबाट सुरु भएको कोरोना महामारी पछिल्लो समय यूरोप हुँदै अमेरिकामा तीव्र रुपले फैलिरहेको छ । विभिन्न तथ्यांक निकाल्ने संस्था वल्र्डोमिटर्सका अनुसार अहिलेसम्म अमेरिकामा २ लाख १५ हाजर ३ जना काेराेना संक्रमित भएका छन् । तीमध्ये ८ हजार ८७८ जना भने पूर्ण रुपमा निको भएका छन् । अहिले त्यहाँ २ लाख ८५९ जना कोरोना संक्रमित छन् । तीमध्ये ५ हजार ५ जनाको अवस्था गम्भीर रहेको छ ।

अमेरिकामा पछिल्लो एकैदिन २६ हजार ३०६ नयाँ संक्रमित फेला परेका छन् भने १ हजार ४६ जनाको मृत्यु भएको छ । जुन अमेरिकामा कोरोनाका कारण भएकाे हालसम्मकै उच्च मृत्यु हो । यसअघि एकैदिनमा ९१२ जनाकाे सम्म मृत्यु भएकाे थियाे ।

अमेरिकाकाे राजधानी वासिङ्टनलगायत ५० वटै राज्यमा कोरोना संक्रमण फैलिएको छ । कोरोना संक्रमणले आक्रान्त अमेरिकामा पछिल्लो हप्ता मात्रै ३३ लाख नागरिक बेरोजगार भएका छन् । व्यापार व्यवसाय ठप्प छन् भने अर्थतन्त्र डामाडोलको अवस्थामा छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले नै आगामी दुई हप्ता झनै पीडादायी हुने चेतावनी दिइसकेका छन् । उनले कम्तीमा १ महिना अमेरिकीहरूले सुझाइएका सबै नियमहरु पालना गर्नु आवश्यक रहेकाे बताएका छन् तर त्यहाँ लकडाउन भने गरिएकाे छैन ।

कुन राज्यमा कति

अमेरिकामा सबैभन्दा बढी न्यु योर्कमा संक्रमित भएका छन् । त्यहाँ अहिलेसम्म ८३ हजार ९०१ जनामा काेराेना भेटिएकाे छ । सबैभन्द बढी मृत्यु पनि न्यु योर्कमै भएकाे छ । त्यहाँ २ हजार २१९ जनाकाे मृत्यु भएकाे छ । न्यु योर्कमा एकैदिन ७ हजार ९१८ नयाँ संक्रमित थपिएका छन् भने ५ सय ५ जनाकाे मृत्यु भएकाे छ ।

न्यु योर्कपछि न्यु जर्सीमा काेराेनाकाे सबैभन्दा बढी संक्रमित छन् । त्यहाँ २२ हजार २५५ जना काेराेना संक्रमित भएका छन् भने अहिलेसम्म ३५५ जनाकाे मृत्यु भएकाे छ । एकैदिन त्यहाँ ३ हजार ५५९ जना नयाँ संंक्रमित थपिएका छन् भने ८८ जनाकाे मृत्यु भएकाे छ ।

त्यस्तै क्यालिफाेर्निया ९ हजार ८०७ जना काेराेना संक्रमित भएका छन् भने २१० जनाकाे मृत्यु भएकाे छ । त्यहाँ एकैदिन १ हजार ३०३ जना नयाँ संक्रमित थपिएका छन् भने ३० जनाकाे मृत्यु भएकाे छ ।

मिचिगनमा अहिलेसम्म ९ हजार ३३४ जान संक्रमित भएका छन् भने ३३७ जनाकाे मृत्यु भएकाे छ । त्यहाँ बुधबार मात्रै १ हजार ७१९ जना नयाँ संक्रमित भेटिएका छन् भने ७८ जनाकाे मृत्यु भएकाे छ ।

फ्लाेरीडामा अहिलेसम्म ७ हजार ७७३ जना काेराेना संक्रमित भएका छन् । त्यहाँ १६ जनाकाे मृत्यु भएकाे छ । मस्साचुसेट्समा ७ हजार ७५२ संक्रमित छन् भने १०१ जनाकाे मृत्यु भएकाे छ ।इलिनाेइसमा ६ हजार ९८० जना संक्रमित हुँदा १४१ जनाकाे मृत्यु भएकाे छ ।

त्यस्तै लुइसियाना ६ हजार ४२४ जना संक्रमित भएका छन् भने २७३ जनाकाे मृत्यु भएकाे छ । अमेरिकाकाे राजधानी वासिङ्टनलमा ५ हजार ८४४ जना संक्रमित भएका छन् भने २५० जनाकाे मृत्यु भएकाे छ ।

कोरोनाको सबैभन्दा बढी संक्रमण हुने देश अमेरिका भए पनि सबैभन्दा बढी ज्यान गुमाउने देशमा इटाली रहेको छ । त्यहाँ हालसम्म १३ हजार १५५ बढीको ज्यान गइसकेको वर्ल्डोमिटर्सले जनाएको छ ।

उद्गमस्थल चीनमा बुधबार एक जनाकाे पनि मृत्यु नभएकाे बताइएकाे छ । अहिलेसम्म त्यहाँ ८१ हजार ५५४ जनामा संक्रमित भएकाे छ । तीमध्ये ७६ हजार २३८ जना भने पूर्ण रूपले निकाे भइसकेका छन् । अहिले त्यहाँ २ हजार जनामा मात्रै काेराेना सक्रिय रहेकाे छ ।

विश्वभर भने अहिलेसम्म काेराेनाका कारण ४७ हजार १९२ जनाकाे ज्यान गइसकेकाे छ । ९ लाख ३५ हजारभन्दा बढी संक्रमित भएका छन् । तीमध्ये १ लाख ९३ हजारभन्दा बढी पूर्ण रूपमा निकाे भइसकेका छन् । अहिले ६ लाख ९४ हजारभन्दा बढीमा काेराेना सक्रिय रहेकाे छ ।

कोरोना भाइरसको प्रकोप अहिले विश्वका सबैजसो देशहरुमा फैलिसकेको छ । नेपालमा पनि यसका ५ जना संक्रमित देखा परेकोमा १ जना निको भइसकेका छन् ।

 

 
 
  
 

You may also like