कतार एयरवेजबाट संक्रमित युवतीसँगै आएका पाँच जनाको नतिजा ‘नेगेटिभ’

चितवन। कतार एयरवेजबाट यहाँ आएका पाँचै जनाको नतिजा नेगेटिभ आएको छ ।
सोही एयरवेजबाट आएकी कोराना सङ्क्रमित युवतीसँगै आएका जिल्लाका पाँचजनाकै कोरोना भाइरसको नतिजा ‘नेगेटिभ’ आएको हो ।

भरतपुर कोरोना विशेष अस्पतालले पठाएको नमूना टेकु प्रयोगशालामा परीक्षण हुँदा पाँच जनाकै नतिजा नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले जानकारी दिए ।

कोरोना सङ्क्रमित युवतीसँगै एउटै जहाजमा आएका भरतपुर महानगरपालिका–८ का भुवन कोइराला, उनकी श्रीमती सञ्जु कोइराला, भरतपुरका सुरेश गुरुङ, शम्भु नेपाली र उनकी श्रीमतीलाई अस्पतालमा क्वारेन्टाइनमा राखी स्वाब परीक्षणका लागि पठाइएको थियो । जिल्ला प्रशासन कार्यालय चितवनको आग्रहमा उनीहरु कोरोना अस्पताल पुगेका थिए ।

सोही एयरवेजमा आएका छ जना चितवनवासी भएकामा एक जना काठमाडौंमा नै बसेका थिए । यस्तै भरतपुर कोरोना अस्पतालबाट पठाइएको अन्य छ जनाको कोरोना परीक्षणको नतिजा समेत नेगेटिभ आएको अधिकारीले जानकारी दिए ।

गत चैत ७ गतेबाट सञ्चालनमा आएको अस्पतालमा कोरोनाको लक्षण देखिएका २३ जनाले सेवा लिएका छन् । हाल चार जनाको उपचार भइरहेको छ । अन्यको नतिजा नेगेटिभ आएसँगै घर पठाइएको अस्पतालले जनाएको छ । घर परिवारको निगरानीमा राख्ने गरी पठाइएको गरिएको हो ।

 
 
  
 

You may also like