कोरोना संक्रमण देखिएकी युवतीका बावुको बयान

म १८ वर्षदेखि युरोपमा बस्दै आएको छु । मेरी श्रीमती, एक छोरा र एक छोरी पनि बेल्जियममै बस्छन् ।

जेठी छोरी भने पहिलेदेखि नै नेपालमा बस्दै आएकी छिन् । ११ कक्षा पढ्दै गरेकी उनीलाई केही समय पहिला हामीले नै बेल्जियम घुम्न बोलाएका थियौं । तर कारणवश म १२ फागुनमै नेपाल आउनुपर्‍यो ।

उनी साढे दुई महिना बसेर ४ चैतमा नेपाल फर्किइन् । काठमाडौं झरेपछि उनी प्लेनमा पोखरासम्म आइन र पोखराबाट जीपमा बागलुङ आइपुगिन् । सकुशल घर आइपुगेकोमा घरका सबै खुशी थियौं । घरमा बुवा आमा र म थियौं । भेट्न भान्जाभान्जी पनि आएका थिए ।

घरमा आउँदा छोरीमा कुनै शारीरिक समस्या देखिएको थिएन । एक दिन बेलुकीपख सामान्य ज्वारो आयो । सिटामोल खान दिएपछि अर्को दिन निको भयो ।

तर १० चैतमा एउटा सनसनीपूर्ण खबर आयो कि फ्रान्सबाट कतार हुँदै आएकी एक जना युवतीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखियो । त्यतिबेलासम्म कोरोनाबारे हामीमा कुनै शंका लागेको थिएन । त्यसपछि मनमा शंका लाग्यो, छोरी पनि कतारलाई नै ट्रन्जिट बनाएर आएकी थिइन् । कतै संक्रमित चढेको विमानमै त थिइनन् छोरी !

अर्को दिन धौलागिरि अस्पताल, बागलुङबाट फोन आयो । मेरी छोरी र कोरोना संक्रमित चढेको विमान एउटै परेछ–कतार एयरको क्यूआर ७५२ । त्यसपछि अस्पतालबाट स्वास्थ्यकर्मीको टिम आएर थ्रोट स्वाब लिएर जानुभयो ।

त्यसपछि हामीले छोरीलाई छुट्टै कोठामा राख्न थाल्यौं । डाक्टरको सल्लाहअनुसार दूरी मेन्टेन गर्‍यौं । उनलाई टाढैबाट खाना राखिदिन्थ्यौं । उनले खाना खाएको जुठो भाँडा पनि ढेढ घण्टापछि माझ्थ्यौँ । भाँडा माझेपछि साबुनपानीले हात धुन्थ्यौं । छोरीलाई नियमित तातोपानी र कागती पानी दिइराखेका थियौं । स्वास्थ्यमा कुनै समस्या देखिएको थिएन । कहिलेकाहीँ खोक्थिन्, तर त्यसरी त हामी पनि खोकिराख्छौं ।

तर, आज छोरीको पनि कोरोनाको रिपोर्ट पोजटिभ आएछ । छोरीलाई कसरी क कोरोना संक्रमण भयो ? म अत्तालिएँ । छोरीले पनि समाचारहरुबाटै आफूलाई कोरोना संक्रमण भएको थाहा पाइन् । त्यो खवर सुनेर निकैबेर रोइन् । मैले ‘नेपालमा कोरोना लागेको विरामी निको भएर डिस्चार्ज भएका छन् । आत्तिनु पर्दैन । सबै कुरा ठिक हुन्छ’ भनेर हौसला दिने प्रयास गरेँ । तर पनि उनी निकै चिन्तित देखिन्छिन् । अहिलेसम्म मसँग केही बोलेकी छैनिन् । अरुसँग पनि बोलेकी छैनन् ।

अहिले घरमा छोरीसहित हामी आठ जना छौँ । भान्जाभान्जी पनि हामीसँगै छन् । हामीले सतर्कता अपनाएका छौं । मेयर, डाक्टर सा’बहरुले फोन गर्नुभएको छ । उहाँहरुले ‘नआत्तिनुस् । केही जटिल लक्षण देखियो भने तुरुन्त सम्पर्क गर्नुहोला । हामी आइहाल्छौँ’ भन्नुभएको छ । आफन्तहरु पनि फोन गरेर हौसला दिइरहनुभएको छ । अनलाइन खबर बाट

 
 
  
 

You may also like