लण्डनमा कोरोनासँग लड्दै नेपाली महिला, भन्छिन्, ‘साह्रै पीडा हुँदोरहेको छ’

काठमाडाैं। अहिले बेलायत पनि कोरोना (कोभिड–१९) भाइरस संक्रमणको मारमा छ । बेलायतमा कोरोना संक्रमणबाट ठूलो नेपाली समुदाय पनि समस्यामा परेका छन् ।

यसैबीच बेलायतको लण्डनमा बस्दै आएकी एक नेपाली महिलाले आफूलाई कोरोना भाइरस संक्रमण भएको आफैले जानकारी गराएकी छिन् । बेलायतमा सामाजिक अभियान्ताको परिचय स्थापित गरेकी डा. भगवती रानाभाट आफूलाई कोरोना भाइरस संक्रमण भएपछि अस्पताल भर्ना भएको जानकारी गराएकी छिन् ।

सामाजिक सञ्जालमा आफ्नो फोटो र स्टाटस पोष्ट गर्दै उनले कोरोना भाइरसबाट सचेत हुन सबैलाई आग्रह समेत गरेकी छिन् । उनले लेखेकी छन्, ‘यो संक्रमण अत्यन्तै पीडादायी हुँदोरहेछ, १३ दिनसम्म पनि निको हुने छाँटकाँट छैन ।’

उनले अरु सबै सचेत बनुन् र यो पीडा अरुले भोग्नु नपरोस् भन्ने उद्देश्यले आफूले नै यो जानकारी शेयर गरेको स्पष्ट पारेकी छिन् ।

लमजुङ तारकुघाटकी डा. रानाभाटले लेखेकी छिन्, ‘१० दिनको सेल्फ आइसोलेसनपछि कोभिड–१९ सँग लड्दै । यो महामारी कति पीडादायक हुँदोरहेछ, आज १३ दिनसम्म पनि निको हुने छाँटकाटै छैन।

फेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथीभाइलाई थप भयावह बनाउँला भन्ने लाग्यो तर सोचें सबैले सावधानी अपनाउन सक्नु हुनेछ । हजुरहरू सबैलाई विशेष सावधान रहन अनुरोध ।’

शुक्रबारदेखि उनी लण्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालको क्रिटिकल केयर युनिटमा उपचार गराइरहेकी छन् । उनलाई शुक्रबार घरैमा एम्बुलेन्स आएर अस्पताल लगेको जनाइएको छ ।

गत ८ तारिख दिउँसो उनी लण्डनको भेन्यू फाइभमा आयोजित अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा सहभागी भएकी थिइन् । त्यसको भोलिपल्ट ९ तारिख मध्यरात १२ बजेदेखि भगवतीलाई उच्च ज्वरो सताएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

 
 
  
 

You may also like