सोमवार रातिदेखि अर्घाखाँची ‘लक डाउन’, अत्यावश्यकीय वस्तुको लागि समय निर्धारण

अर्घाखाँची। नोवेल कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सोमबारबाट अर्घाखाँची जिल्ला ‘लक डाउन’ भएको छ ।प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सोमबार बिहान बसेको सर्वपक्षीय बैठकले अर्को सूचना जारी नभएसम्मका लागि जिल्लालाई ‘लक डाउन’ गर्ने निर्णय गरेको हो ।अन्य जिल्लाबाट अर्घाखाँची जिल्लामा प्रवेश गर्ने मालबाहक गाडी बाहेक अन्य सार्वजनिक निजी सवारी साधन र मोटरसाइकलको आवतजावत सोमबार राति १२ बजेदेखि पूर्णरुपमा प्रतिबन्ध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।

मालबाहक सवारी साधनका चालक र सहचालकको हेल्थ डेस्कमा अनिवार्य स्वास्थ्य परीक्षण गरेर मात्र जिल्ला प्रवेश गर्न दिने, खाद्यान्न, ग्याँस, तेल, फलफूल पसल प्रत्येक बिहान १० देखि २ बजेसम्म मात्र खुला गर्ने, दूध डेरी, सागसब्जी पसल बिहान ६ देखि ९ र बेलुका ४ देखि ७ सम्म मात्र खुला गर्ने निर्णय गरिएको छ ।साथै ठेला गाडामा सञ्चालित व्यवसायमा अर्को सूचना नभएसम्म प्रतिबन्ध लगाइएको छ । अस्पताल, औषधि पसल र पेट्रोल पम्प भने २४ सै घन्टा खुला रहने निर्णय भएको छ ।

बैठकमा जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु, संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।प्रदेश ५ सरकारले कोभिड(१९ संक्रमण रोक्न कुनै क्षेत्र वा जिल्ला लकडाउन गर्नुपर्ने अवस्था आएमा जिल्लागत योजना प्रमुख जिल्ला अधिकारीले बनाउन सक्ने निर्णय चैत ७ गते गरेअनुसार यस्तो निर्णय गरिएको प्रजिअ पौडेलले बताए ।कोरोना संक्रमणको कारण कुनै जिल्ला नै लकडाउन गर्न आवश्यक हुनसक्ने विषयलाई मध्यनजर गरी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले त्यससम्बन्धी योजना तयार गर्ने निर्णय पनि गरिसकेको छ

 
 
  
 

You may also like