भारत र चीनतर्फ यात्रु आवागमन बन्द, लामो दुरीका सवारी साधन पनि ठप्प

काठमाडाैँ । सरकारले भारत र चीनतर्फका सबै सीमा नाकामा यात्रु आवागमन एक हप्ताका बन्द गरिएकाे छ ।

हिजो आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले आज बिहान १० बजेबाट १६ गतेसम्म सबै अन्तर्राष्ट्रिय नाकाबाट यात्रु आवागमन स्थगित गर्ने निर्णय गरेको हो । तर सामान आयात-निर्यात भने नरोकिने प्रस्ट पारिएकाे छ ।

भारतमा कोरोनाको संक्रमण देखिएपछि नेपालले सीमा-नाका बन्द गर्ने प्रस्ताव राखेको थियो । तर भारतले वेलैमा ठोस जवाफ नदिँदा निर्णय हुन सकेको थिएन । यही बेला रोजगारी तथा अध्ययनका लागि भारत गएका हजारौं नेपाली घर फर्किएका छन् । यसले कोरोनाको संक्रमण फैलिने जोखिम बढेपछि शनिबार बसेको कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकमा मन्त्रीहरुले नै भारत सहमत नभए एकतर्फी रुपमै भए पनि सीमा नाका बन्द गर्नुपर्नेमा जोड दिएका थिए ।

केही जिल्लाले हिजाेदेखि नै स्थानीय स्तरमा सहमति गरेर नाका बन्द गर्ने निर्णय पनि गरेका थिए । भारतले पनि आइतबार मध्यरातिबाट लागू हुने गरी अन्तरप्रदेश बस सेवा र रेल सेवा बन्द गर्ने निर्णय गरेको थियाे । लगत्तै नेपाल सरकारले पनि एक साताका लागि चीन र भारततर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । आवश्यक परेमा याे अवधि लम्बिन सक्ने समेत सरकारले बताइरहेकाे छ ।

यो निर्णय कार्यान्वयनसँगै नेपाल ‘लकडाउन’ हुनेछ । हिजो मध्यरातबाट नै नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाइ उडानहरुमा रोक लगाइसकेको छ ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै एक चैत ९ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान रोक्ने घोषणा गर्नुभएकाे थियाे ।

देशभित्र लामो दुरीमा चल्ने यात्रुवाहक सवारी सञ्चालन पनि आजैबाट रोक लगाइएको छ । साेमबारबाटै अर्काे निर्णय नभएसम्मका लागि स्थानीयस्तरमा चल्ने बाहेक लामाे दूरीमा सार्वजनिक सवारी चलाउन नपाइने यातायात व्यवस्था विभागले जनाएकाे छ ।

 
 
  
 

You may also like