कोरोनाबारे निर्णय धेरै, गृहकार्य थोरै

संक्रमण रोक्ने होइन, धुलो छेक्ने मास्कको पनि नेपाली बजारमा अभाव

काठमाडौं
निर्णय–
सर्वोच्चको आदेश– आवश्यकताअनुसार केही दिन अथवा महिना अन्तर्राष्ट्रिय उडान रोक्नू ।
नेपाल प्रवेश गर्ने स्थलमार्ग र अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइका साथ स्वास्थ्य जाँच गर्न सरकारका नाममा सर्वोच्चको आदेश, आवश्यकताअनुसार केही दिन अथवा महिना अन्तर्राष्ट्रिय उडान रोक्न पनि आदेश ।

पर्यटन मन्त्रालय– प्रभावित देशबाट आउने अन्तर्राष्ट्रिय उडानलाई निरुत्साहित गर्ने तयारी
चीन, इरान, कोरिया, जापान, इटालीका नागरिकलाई अनअराइभल भिसा बन्द, संक्रमित मुलुकबाट आउने यात्रुलाई विमानस्थलमा भिसा र चेकजाँचमा कडाइ गर्दै अन्तर्राष्ट्रिय उडान निरुत्साहित गर्ने नीति ।

शिक्षा मन्त्रालय– कोरोना प्रभावित देशका लागि विद्यार्थीलाई एनओसी दिन बन्द ।
कोरोनाको उच्च जोखिम भएका देशमा वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) नदिने निर्णय, तत्कालका लागि चीन, जापान, दक्षिण कोरिया, सिंगापुर, इटली, इरानमा मंगलबारदेखि नै एनओसी बन्द ।

परराष्ट्र मन्त्रालय– सकेसम्म विदेश भ्रमण नगर्न नागरिकलाई ट्राभल एड्भाइजरी जारी

जलवायु परिवर्तनबारे सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवाद स्थगित, नेपाली नागरिकका लागि परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी– अत्यावश्यक कामकाज बाहेक विदेश नजान आग्रह ।

अर्थ मन्त्रालय– संक्रमणको सम्भावित जोखिम र अर्थतन्त्रमा असरबारे अध्ययन सुरु
कोरोनाको सम्भावित संक्रमण र असरबारे अर्थ मन्त्रालयबाट अध्ययन सुरु, अप्ठ्यारो अवस्थामा पनि औषधि र अन्य उपभोग्य वस्तुको माग र आपूर्ति कमी हुन नदिन ।
अहिलेदेखि तयारी
गृहकार्य
संक्रमण रोक्ने होइन, धुलो छेक्ने मास्कको पनि नेपाली बजारमा अभाव
नेपालमा उत्पादन र प्रयोग हुने ‘सर्जिकल मास्क’ले संक्रमण नियन्त्रण गर्न सक्दैनन् । धुलो नियन्त्रणका लागि प्रयोग गर्ने चलन थियो । पछिल्लो समय विश्व स्वास्थ्य संगठनले नेपाल पनि उच्च जोखिममा रहेको औँल्याएपछि बजारमा ‘सर्जिकल मास्क’को माग झन् बढेको छ ।

नेपालमा अहिले दैनिक तीन हजारको संख्यामा ‘सर्जिकल मास्क’ उत्पादन हुन्छन् । त्यसले बजारको माग धान्न सक्दैन । विगतमा भारत र चीनबाट नियमित रूपमा आयात हुँदै आएको थियो । तर, संक्रमण बढेकाले दुवै देशले पठाउन छाडेपछि नेपालमा मास्क अभाव भएको छ । संक्रमण रोक्ने ‘एन ९५’ र ‘थ्री एम ८२०१’ जस्ता मास्क नेपाली बजारमा छैनन् ।

आइसोलेसन वार्ड छैन, आवश्यक परे क्याबिनलाई नै वार्ड बनाउने तयारी
विश्व स्वास्थ्य संगठनका अनुसार उपचार गराइरहेका एक बिरामीबाट अर्को बिरामीमा रोग फैलिन नदिन हरेक अस्पतालले छुट्टै ‘आइसोलेसन वार्ड’ स्थापना गरी उपचार गर्नुपर्छ । तर, नेपालमा यस्तो व्यवस्था छैन ।

हाल सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा पनि भएका क्याबिनलाई आइसोलेसनको नाम दिइएको छ । क्याबिनका १० बेडलाई आइसोलेसन भनिएको छ । टेकु अस्पतालमा जम्मा चार आइसियू बेड छन् । तर, अधिकांश समय एचआइभीका बिरामीले भरिएका हुन्छन् ।

कोरोनाका बिरामी आए आइसियू, भेन्टिलेटर आवश्यक पर्छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रशासन प्रमुख रूपनारायण खतिवडा अस्पतालमा रहेका चार आइसियू बेड अहिले पनि अन्य बिरामीले भरिएको बताउँछन् ।

यता वीर अस्पतालमा ११ बेड आइसियू सञ्चालनमा छन् । अहिले सबै बेड बिरामीले भरिएको निर्देशक डा. केदारप्रसाद सेन्चुरी बताउँछन् । ‘वीर अस्पतालमा अहिल्यै आइसियू खाली गर्न सकिँदैन,’ निर्देशक सेन्चुरीले भने,’ ‘बिरामी आइहालेमा दुई बेड खाली गराउनेछौँ ।’

त्यस्तै, शिक्षण अस्पताल महाराजगञ्जमा पनि कोरोना संक्रमितका लागि छुट्टै आइसियू छैन । ११ आइसियू बेडमा बिरामी छन । उता, सिभिल सर्भिस अस्पतालका निर्देशक दीर्घराज आरसी भन्छन्, ‘त्यस्ता बिरामीको उपचार गर्न छुट्टै अस्पताल चाहिन्छ । हाम्रो अस्पतालमा पाँच आइसियू सञ्चालनमा रहेका छन्, ती सबै २४सै घन्टा भरिएका हुन्छन् ।’

उपचार गर्दा स्वास्थ्यकर्मीले लगाउने कवज पनि पाँच सय मात्र
संक्रामक रोगको उपचार गर्न चिकित्सक तथा अन्य कर्मचारीको उच्च सुरक्षाका लागि सुरक्षा कवज आवश्यक पर्छ । विगतमा इबोलाको वेला सरकारले चिकित्सकहरूका लागि सुरक्षा कवजको व्यवस्था गरी प्रयोग गर्नसमेत सिकाएको थियो ।

तर, अहिले कोरोना भाइरस देखिँदा सीमित स्वास्थ्यकर्मीलाई बाहेक कसैलाई पनि तालिम दिइएको छैन । उपचार गर्दा स्वास्थ्यकर्मीले पूरा शरीर ढाक्ने सुरक्षित लुगा, आँखा सुरक्षित गर्न चस्मा, भाइरस फिल्टर गर्ने मास्क, पन्जा आवश्यक पर्छ ।

एक पटक लगाएका लुगा विशेष किसिमले निर्मलीकरण गरेर मात्रै पुनः प्रयोग गर्नुपर्छ । व्यवस्थापन महाशाखाका प्रमुख भोगेन्द्र डोटेलका अनुसार हाल सरकारसमक्ष पाँच सय पिस पिपिई अर्थात् ‘फिजिकल प्रोटेक्टिभ इक्युपमेन्ट’ रहेको छ । अन्य उपकरणका लागि खरिद प्रक्रिया अघि बढिसकेको उनले बताए ।

विमानस्थलमा जोखिममा सेवा गर्ने स्वास्थ्यकर्मीलाई जम्मा तीन सय भत्ता

संक्रामक रोगको पहिचान गर्न सरकारले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ०७० मा नै हेल्थ डेस्कको स्थापना गरेको हो । अहिले कोरोना भाइरसको प्रकोप देखिएपछि सरकारले हेल्थ डेस्कलाई केही व्यवस्थित बनाएको छ । स्वास्थ्य मन्त्रालयले विमानस्थलमा आठ जना स्वास्थ्यकर्मी परिचालन गरेको छ ।

तर, उनीहरूलाई जोखिम उच्च र सुविधा न्यून भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नै स्वीकार गरेको छ । हेल्थ डेस्कमा रहेर जोखिमयुक्त काम गर्ने स्वास्थ्यकर्मीलाई स्थापनाताका १२ सय रुपैयाँ दैनिक भत्ता दिँदै आएकोमा सरकारले कटाएर तीन सयमा सीमित बनाएको टेकु अस्पतालका प्रशासन प्रमुख रूपनारायण खतिवडाले बताए ।

तीन सय भत्ताले विमानस्थलमा कफी खान समेत गाह्रो हुन्छ । अझ, सरकारले यातायातको समेत व्यवस्था नगर्दा रातको समयमा आफ्नै पैसा तिरेर घर फर्कनुपरेको त्यहाँ कार्यरत स्वास्थ्यकर्मी बताउँछन् । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like