‘मन्त्री र सांसद नै सम्पत्तिमा दाइजो लेख्छौं अनि कसरी उन्मूलन हुन्छ ?’

काठमाडौं । कानुनको प्रभावकारी कार्यान्वयन गर्न राज्य चुक्नु, गरिबी, अशिक्षा र चेतनाको कमीका कारण बोक्साबोक्सी र दाइजोजस्ता कुप्रथाका साथै एसिड आक्रमणका घटना बढेको सांसदहरूको भनाइ छ ।

सत्तारुढ नेकपाकी सांसद बिन्दा पाण्डेले प्रतिनिधिसभामा राखेको विशेष महत्वको प्रस्तावमा धारणा राख्दै सांसदहरूले कानुनको प्रभावकारी कार्यान्वयन गर्दै समाजमा व्याप्त कुप्रथाविरुद्ध स्थानीय तहमा प्रभावकारी अभियान सञ्चालन गर्नुपर्ने धारणा राखेका हुन् ।

सांसद पाण्डेले ’बोक्साबोक्सी, दाइजोलगायत कुरीति तथा एसिड प्रहार जस्ता आपराधिक कार्य देशमा विद्यमान रहेको अवस्थामा यस्ता अमानवीय, संवेदनशील र अमर्यादित प्रथा प्रचलन रकुरीति विकृतिको अन्त्यका लागि कानुनी कारबाही गर्न तथा यस सम्बन्धमा विशेष अभियानसञ्चालन गर्न आवश्यक भएको’भन्दै प्रस्ताव गरेकोजरुरी सार्वजनिक महत्वको प्रस्तावमा सांसदहरूले राज्य सञ्चालक र कानुन निर्माताले निर्णायक भूमिका खेल्नुपर्ने बताएका हुन् ।

सांसदहरूले अहिलेको पुस्ताले नै यी कुप्रथाको अन्त्यका लागि भूमिका खेल्नुपर्ने धारणा राखेका थिए । आगामी पुस्ताले दाइजो र बोक्सा बोक्सी जस्ता कुप्रथा तथा एसिड आक्रमण जस्ता जघन्य अपराध भोग्न नपरोस् भनेर बहस होस् र तीविकृति उन्मूलनका लागि राज्यका निकायले भूमिका खेलुन् भनेर उक्त प्रस्ताव ल्याएकोसांसद पाण्डेले बताइन् ।

‘अब जन्मने छोरीहरूले त्यो अवस्था भोग्न नपरोस्। विद्यालय जान पाउन्,’ प्रस्ताव प्रस्तुत गर्दै उनले भनिन् । महिलाको आत्मसम्मान र आत्मविश्वास बढाउनका लागि उक्त प्रस्ताव ल्याएको उनको भनाइ थियो ।

गत वर्ष १३ महिलाले दाइजोका कारण ज्यान गुमाएको र ३०० भन्दा बढी महिला पीडित तथा दुर्व्यवहार र हिंसामा परेको मानवअधिकार वर्ष पुस्तक, २०२० को तथ्यांक उल्लेख गर्दै पाण्डेले भनिन्, ‘संघीय, प्रदेश र स्थानीय सरकारहरूले यसको निर्मूल गर्न मिलेर काम गर्नुपर्छ । कानुन विपरीत दाइजो लिने र दिने गरेमा कसुर गर्ने व्यक्तिलाई पारिवारिक विषय मात्रै हो भनेर उन्मुक्ति नदिई सामाजिक विषय मानेर कारबाही गर्नुपर्छ ।’

नेकपाका सांसद कृष्णभक्त पोखरेलले दाइजो, बोक्सा बोक्सीमा संलग्न जोसुकै भए पनि कानुनी कारबाहीको दायरमाल्याउन सबैले संकल्प गर्न सके आगामी पुस्ता यस्तो कुसंस्कारको सिकार नहुने बताए । ‘छोराछोरी, आफन्त पर्दा म बचाउने छैन भन्ने प्रतिबद्धता व्यक्त गरौँ । हाम्रो पुस्ताले जति सहेको छ सह्यो, अर्को पुस्ताका लागि यी मुद्दा बाँकी नराख्ने संकल्प गरौँ,’उनले भने ।

दाइजो पीडित तराईका महिलाले आमा र हजुरआमा पुस्ताले भोगेको पीडा अहिले पनि भोग्नु परिरहेको सुनाउने गरेको सांसद समिना हुसेनको भनाइ थियो । ‘मेरो हजुरआमाले भोग्नुपर्ने पीडा मैले पनि भोग्नु परिरहेको छ भने के परिवर्तन आएको छ ? भनेर तराईका महिलाले भनिरहेका हुन्छन्, ‘दाइजो लिने दिने कामको अन्त्य गर्नका लागि महिलामा जागरण ल्याउनुपर्ने उनको भनाइ थियो ।

कांग्रेस सांसद गगनकुमार थापाले दाइजो र बोक्साबोक्सी जस्ता कुप्रथालाई अस्वीकार गर्नेपुस्ता तयार पार्नुपर्ने धारणा राखे । शिक्षाको माध्यमबाट त्यस्तो पुस्ता तयार गर्न राज्यका सबै निकाय लाग्नुपर्ने उनको भनाइ थियो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले राज्यले आगामी दिनमा बोक्साबोक्सी र दाइजो प्रथा उन्मूलनका लागि कानुनी कारबाही कडा रूपमा चलाउनुका साथै जनचेतनामूलक अभियान पनि सञ्चालन गर्ने नीति लिने विश्वास दिलाएका थिए । अल्पकालीन र दीर्घकालीन योजना बनाएर कुरीति र कुसंस्कृति अन्त्य गर्न सरकार अगाडि बढ्ने उनको भनाइ थियो ।
‘बोक्सी प्रथा वर्गसँग जोडिएको छ’

महिलाहरूलेबोक्सीको आरोपमा जीवनभर पीडा खेप्नुपरेको सांसदहरूको भनाइ थियो । उनीहरूले गरिब परिवारका महिला, एकल महिलाले बोक्सीको आरोप खेप्नु परेको धारणा राखेका थिए । बोक्सोका नाममा गरिब पुरुषहरूमाथि पनिअमानवीय व्यवहार गरिँदै आएको उनीहरूको भनाइ थियो ।

२०७२ सालमा बोक्साबोक्सी सजाय कसुरसम्बन्धी कानुन निर्माण भए पनि कार्यान्वयन नहुँदाउक्त कुप्रथा उन्मूलन नभएको सांसदहरूको भनाइ थियो ।

नेकपाकी सचेतक शान्ता चौधरीले भनिन्, ’कानुनी रूपमा बोक्साबोक्सी अन्त्य भएका छन् तर व्यवहारिक रूपमाकहीँ न कहीँ बाँकी छन् । यी कुप्रथा वर्गसँग जोडिएका छन् । जबसम्म हामी वर्गीय समस्या, गरिबी समस्या समाधान गर्न सक्दैनौँतबसम्म यस्ता कुप्रथा अन्त्य गर्न सक्छौँ जस्तो लाग्दैन।’ उनले थपिन्, ‘सहरमा गाडी चलाएर हिँड्ने महिलाले बोक्सीको आरोपमा मारिनुपरेको छैन,गाउँका गरिब महिला नै मारिनुपरेको छ ।’

काग्रेस सांसद डिला संग्रौला पन्तले बोक्सीका नाममा महिलाहरूलाई मलमूत्र खुवाएर गाउँघर घुमाएर जीवनभर पीडा दिने र आत्मसम्मानमा आँच पुर्‍याउने कुकृत्य भएकाले त्यसलार्इ रोक्न कानुनी कारबाहीलाई कडाइका साथ लागु गर्नुपर्ने बताइन् । कान्तिपुर दैनिकबाट

 
 
  
 

You may also like