लुम्बिनीलाई स्थानियसँग जोड्न वृहत्तर गुरुयोजना कार्यान्वयनको खाँचोः मुख्यमन्त्री

by समतल अनलाइन

–अन्तराष्ट्रिय बौद्ध कला, संस्कृति र साहित्य महोत्सव लुम्बिनीमा सुरु
जीवराज चालिसे
बुटवल ।बुद्ध जन्मस्थल लुम्बिनीका स्थानिय समूदाय त्यहाँको बौद्धकला, संस्कृति र विकाससँग जोडिन नसकेको भन्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले दुःख व्यक्त गरेका छन् ।


लुम्बिनी बौद्ध विश्वविद्यालय र प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा लुम्बिनीमा शुक्रबारदेखि सुरु भएको अन्र्तराष्ट्रिय बौद्ध कला, संस्कृति र साहित्य महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले लुम्बिनी र स्थानियको बिचमा ‘भावनात्मक सामिप्यता’ हुन नसकेको प्रति चिन्ता प्रकट गरेका हुन् ।

मुख्यमन्त्री पोखरेलले भने,‘स्थानिय र बुद्धको जन्मस्थलका बिचमा भावनात्मकरुपमा सामिप्यता प्राप्त गर्न सकेका छैनौं । एक प्रकारमा भन्ने हो भने समूदायबाट लुम्बिनी आईसोलेशन(एक्लो) भएको जस्तो देखिन्छ ।’

मुख्यमन्त्री पोखरेलले वास्तुकलाविद् केन्जो टांगेको गुरुयोजनाअनुरुप भईरहेको विकासले मात्रै स्थानियले लुम्बिनीको अपनत्व महसुस गर्न नसक्ने बताउदै यस ऐतिहासिक सम्पदाको विस्तारित स्वरुपमा विकास गरेरमात्रै स्थानियले फाइदा लिन सक्नेमा जोड दिए ।
उनले भने,‘मायादेवी मन्दीरको पेरीफेरी(वरपर)को क्षेत्रलाईमात्रै समेटेर बनाईएको केन्जो टांगेको गुरुयोजनामा आधारित रहेर गरेको विकासबाट यहाँका जनताले फाइदा लिन सकेका छैनन् । केही टाठाबाठालेमात्रै लाभ लिएका छन् । जव हामी लुम्बिनीको विस्तारित स्वरुपमा विकास गर्छौं, तवमात्रै यहाँका स्थानियहरुले फाईदा लिन सक्छन् ।’

बृहत्तर लुम्बिनी योजना र विश्व शान्ति नगर कार्यान्वयन भएमा मात्रै स्थानिय समूदाय र लुम्बिनीबिच सामिप्यता आउने उनको दावी थियो । यद्यपी, लुम्बिनीका स्थानियको जीवनस्तरलाई समेत उकास्ने गरि बनाईएको उक्त विस्तारित गुरुयोजनाको बारेमा स्थानियहरुलाई भ्रम पैदा गरि विकास विरोधी गतिविधिमा संलग्न गराएको प्रति यहाँका केही अगुवा नेताहरुसँग उनि खुसि देखिएनन् ।
उनले भने,‘अहिले यहाँका केही टाँठाबाठाहरुले आफ्नो राजनीतिक स्वार्थ पुरा गर्न लुम्बिनीलाई विस्तारित स्वरुपमा लैजाने कुरालाई भड्काईरहेका छन् । विस्तारित गुरुयोजना कार्यान्वयन गरेमा यहाँका जनता विस्थापित हुनुपर्छ भनेर नचाहिदो प्रचार गरिकन भ्रम सिर्जना गर्ने काम गरिरहेका छन् ।,’
मुख्यमन्त्री पोखरेलले जनताको बिचमा भ्रम सिर्जना गरि जनतालाई भयभित बनाएर विकासलाई लुट्नेखालको काम लुम्बिनीको विकासको लागि प्रत्युत्पादक हुने प्रष्ट पारे । साथै उनले विकास विरोधी भ्रम फैलाएर फोहोरी राजनीति नगर्न लुम्बिनी क्षेत्रका स्थानिय तथा केही अगुवा नेताहरुलाई आह्वान गरे ।


उक्त अवसरमा पुर्व मन्त्री दीपकुमार उपाध्ययले प्रोफेशर केन्जो टांगेको गुरुयोजना समयमा नै सम्पन्न हुन नसकेकोमा दुःख व्यक्त गरे । लुम्बिनीलाई ‘हिराको खानी’ संज्ञा दिदैं उनले यसको व्यवस्थापन र विकासमा लुम्बिनी विकास कोष चुकेको बताए ।

समारोहमा रिम्पुचें श्रीधरण राणाले नेपाल बौद्धकलाको उद्गस्थल भएको बताउँदैं यसको महत्व र थप अन्वेशण तथा प्रचारप्रसारको आवश्यकताको बारेमा औंल्याए । विश्वविद्यालयका रजिस्ट्रार तिलकराम आचर्यले अन्तरास्ट्रिय बुद्धिस्ट साहित्य, सस्कति सम्मेलन मार्फत बुद्धिज्मको विकास गर्ने ध्ययेले कार्यक्रम गरिएको बताए ।

लुम्बिनी विश्वविद्यालय केन्द्रिय क्याम्पसका प्रमुख फणिन्द्र न्यौपानेको सन्चालन तथा विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्यको सभापतित्वमा सम्पन्न उक्त उद्घाटन सत्रमा प्रदेश सरकारका उद्योग, पर्यटन, बन तथा बातवरण मन्त्री लिला गिरी, पुर्व सभामुख दमनाथ ढुंगाना, चिनकालागी नेपालका पुर्व राजदूत टंक कार्कि, विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. त्रिरत्न मानन्धर, बरिष्ठ पत्रकार डा. कुन्दन अर्याल, राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराई, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय, प्रदेश सभासदस्यहरु, स्थानिय तहका प्रमुखहरु तथा स्वदेशी तथा विदेशी बुद्धिज्म क्षेत्रका जानकार एवं स्थानियहरुको उपस्थिति रहेको थियो ।

माघ २६ गतेसम्म सञ्चालन हुने महोत्सवमा बौद्ध कला र साहित्यको प्रदर्शन तथा बौद्ध अध्ययन सम्बन्धी साहित्यको बिबिध विषयमा गोष्ठी हुने उक्त महोत्सवमा बौद्ध कला, संस्कृति र साहित्यका विविध पक्षहरुबारेमा छलफलहुने जनाइएको छ । महोत्सव अवधीभर पूर्वमन्त्री मोदनाथ प्रश्रित, पूर्व सभामुख दमननाथ ढुंगाना, पूर्व राजदूत खगनाथ अधिकारी, टंक कार्की, विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. त्रिरत्न मानन्धर, बरिष्ठ पत्रकार डा. कुन्दन अर्याल, पुरातत्वविद् कोषप्रसाद आचार्य, बसन्त विडारी, प्राज्ञ गोपिरमण उपाध्याय सहितका १६ विज्ञहरुले बौद्ध कला, संस्कृति र साहित्यका बारेमा कार्यपत्र प्रस्तुत गर्ने विश्वविद्यालयका डीन प्रा. डा. वेदप्रसाद गिरीले जानकारी दिए । शुक्रबार र शनिबार उक्त कार्यपत्रहरु प्रस्तुत गरि त्यसबारेमा वृहत्तर छलफल गरिने बताईएको छ ।

 
 
  
 

You may also like