केयूमा चिकित्सा शिक्षाको शुल्क निजी सरह, छात्रवृत्ति नौ सिट हुनुपर्नेमा एक मात्रै

by समतल अनलाइन

काठमाडौं। काठमाडौं विश्वविद्यालय (केयू)ले चिकित्सा शिक्षाका कार्यक्रममा निजीसरह शुल्क लिए पनि छात्रवृत्ति भने एक सिट मात्र दिँदै आएको छ ।

छात्रवृत्ति ऐनले नेपाली लगानी रहेका शैक्षिक संस्थाले १० र विदेशी लगानी भएका संस्थाले २० प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था गरेको छ । सोहीअनुसार केयूले नौ सिट छात्रवृत्ति दिनुपर्ने भए पनि एक सिट मात्रै दिएको छ । एमबिबिएसमा ८५ सिट पाएको काठमाडौं विश्वविद्यालयले ऐन विपरीत विगतदेखि नै एक सिट मात्रै दिँदै आएको छ ।

चालू शैक्षिक सत्रमा एमबिबिएस र बिएस्सी नर्सिङमा एक सिट मात्रै छात्रवृत्ति दिएको छ । बिडिएसतर्फ छात्रवृत्ति नै दिएको छैन । चिकित्सा शिक्षा आयोगका अनुसार बिडिएसमा ५० सिट पाएको केयूले पाँच सिटमा छात्रवृत्ति दिनुपर्छ । केयूले अघिल्ला वर्षहरूमा त चिकित्सा शिक्षाका कुनै पनि कार्यक्रममा छात्रवृत्ति दिएको थिएन ।

काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सअन्तर्गत सञ्चालन भएका चिकित्सा शिक्षाका कार्यक्रमको शुल्क भने निजी मेडिकल कलेजसरह नै छ । केयूले आफ्नै आंगिक शैक्षिक संस्थामा अध्ययन गर्ने विद्यार्थीलाई समेत निजीसरह शुल्क असुल्दै आएको छ ।

सरकारले ०७२–७३ देखि एमबिबिएसरबिडिएसमा शुल्क निर्धारण गर्न थालेको हो । चिकित्सा शिक्षा ऐनअनुसार सरकारी वा सार्वजनिक संस्थाले भने चिकित्सा शिक्षामा कम्तीमा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था छ । ७५ प्रतिशत छात्रवृत्तिको रकम सरकारले बेहोर्ने व्यवस्था छ । तर, निजीले उपलब्ध गराउनुपर्ने १० वा २० प्रतिशत छात्रवृत्तिको रकम भने
सरकारले दिँदैन ।

केयूमा अध्ययन गरेका चिकित्सा शिक्षा संघर्ष समितिका प्रवक्ता सुजन कडरियाले आफ्नै क्याम्पसमा छात्रवृत्तिका लागि आन्दोलन गरेको, तर शिक्षा मन्त्रालयकै मिलेमतोमा माग सुनुवाइ नभएको बताए । ‘सरकारले शुल्क तोकेपछि पनि केयूले निजीसरह शुल्क लियो, छात्रवृत्ति दिएन,’ उनले भने ।

शिक्षा मन्त्रालयले नै केयूलाई छुट दिएको चिकित्सा शिक्षा आयोगले बताएको छ । ‘शिक्षा मन्त्रालय र काठमाडौ विश्वविद्यालयबीच एक सिट मात्रै छात्रवृत्तिमा पढाउने सम्झौता भएको जानकारी आएको छ । कहिले र कसले गरेको हो यकिन छैन,’ आयोगका प्रवक्ता हरि लम्सालले भने, ‘सम्झौता भएको कुरा गरेपछि हामीले पनि बढी सोधीखोजी गरेनौँ ।’

केयू निजी कि सार्वजनिक ?
केयू र त्यसअन्तर्गतका शैक्षिक संस्था निजी हुन् वा सार्वजनिक भन्नेमा विवाद छ । अहिलेसम्म विश्वविद्यालयहरू निजीस्तरमा सञ्चालन हुने गरी स्थापना गरिएका छैनन् । त्रिभुवन विश्वविद्यालयसरह नभए पनि केयूलाई विश्वविद्यालय अनुदान आयोगमार्फत बर्षेनी अनुदान जाने गरेको छ ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. भीमप्रसाद सुवेदीले केयू कुन किसिमको विश्वविद्यालय भन्ने प्रश्न रहेको बताए । अध्यक्ष सुवेदीले भने, ‘केयूलाई निजी भन्न त मिल्दैन, सरकारको एकमुष्ट अनुदान जान्छ, तर सरकारी हो वा होइन भन्ने प्रश्न छ ।’

सरकारले यो शैक्षिक सत्रमा त्रिविको चिकित्साशास्त्र अध्ययन संस्थान, पाटन र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७५ प्रतिशत छात्रवृत्ति दिन सुरु गरेको छ । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like