घुम्न गएका चिकित्सक चीनमा अलपत्र

by समतल अनलाइन

काठमाडौं। चीन घुम्न आएका शल्य चिकित्सक समीर भट्टराई कोरोना भाइरसको सबैभन्दा प्रभावित क्षेत्र हुपेईमा अलपत्र परेका छन् ।

चीनले हुपेई प्रान्तको सदरमुकाम वुहानलाई सिल्ड गरेपछि उनी नेपाल फर्कन नपाउने भएका हुन् । झापाको दमकस्थित लाइफलाइन अस्पातलका शल्य चिकित्सक रहेका उनी डिसेम्बर १० मा सात वर्षीया छोरी स्मारिकालाई लिएर चीन घुम्न आएका थिए ।

डा. भट्टराईको फर्कने टिकट जनवरी ३० तारिखको थियो । दुई महिने भिसामा आएका उनको भिसा अवधि पनि फेब्रुअरी ९ मा सकिँदैछ । भट्टराईको फर्कने कार्यतालिकाभन्दा एक साताअगाडि चीन सरकारले हुपेई प्रान्तलाई सिल्ड गरेको थियो ।

डा. भट्टराईकी पत्नी जानुका भुसाल वुहान नजिकैको चिङचौ सहरस्थित याङ्चे विश्वविद्यालयमा स्त्री तथा प्रसूति रोग विषयमा एमडी गर्दैछिन्। उनले नै जाडो बिदा पारेर पति र छोरीलाई चीन घुम्न बोलाएकी थिइन्। आगामी सेप्टेम्बरमा एमडी सकिने र खोज तथा अनुसन्धानमा निकै व्यस्त हुनुपर्ने भएकाले त्यसअघि नै चीन घुमाउने विचार गरेर उनले पति र छोरीलाई बोलाएकी थिइन् ।

कोरोना भाइरसका कारण कोठामै थुनिनु परेपछि आफूहरू उकुसमुकुस भएको डा. भट्टराईले नागरिकलाई बताए । ‘हुपेईबाट कतै बाहिर जान पाइन्न । कहिलेसम्म यसरी थुनिएर बस्नुपर्ने हो ?’ उनले भने, ‘साथमा सानी छोरी पनि छे । आफ्नो नेपालको काम पनि चौपट हुने भयो ।’ उनका अनुसार वुहानबाट अहिलेसम्म अमेरिका, कोरिया, बंगलादेश, श्रीलंका, जापान, भारतलगायत देशले आफ्ना नागरिक उद्धार गरेर स्वदेश फिर्ता गरिसकेका छन् ।

दक्षिण एसियाली एक मात्र मुलुक पाकिस्तानले चीनलाई सदावहार अभिन्न मित्र मान्दै चीनको क्षमता र दक्षतामा विश्वास लागेकाले आफ्ना नागरिकको उद्धार नगर्ने बताइसकेको छ । तर अन्य विभिन्न देशले आफ्ना नागरिकलाई उद्धार गरेर लगेपछि नेपाली विद्यार्थीमा मानिसक दबाब र त्रास बढेको छ । त्यसमाथि नेपालबाट आफन्तले जसरी पनि आउनू भन्दा झनै तनाव हुने गरेको भुसालले बताइन् । हुपेई प्रान्तमा मात्र दुई सयको हाराहारीमा नेपाली विद्यार्थी छन् ।

नेपाल सरकारले उद्धार गरेर आफूहरूलाई स्वदेश लानुपर्ने भनाइ सबै नेपाली विद्यार्थीको रहेको भुसालले बताइन् । उनले बेइजिङस्थित नेपाली दूतावासलाई पनि त्यसबारे जानकारी गराइसकेको सुनाइन् । ‘नेपाल सरकारले आफ्ना नागरिकको दायित्व लिनुपर्छ,’ उनले भनिन्, ‘उद्धार खर्च बेहोर्न सक्दैन भने बरु हामी दामासाही रूपमा तिर्न तयार छौं ।’ नागरिक दैनिकबाट

 

 
 
  
 

You may also like