बुधबार किन मिलेन मौसम पूर्वानुमान ? यस्तो रहने छ आगामी तीन दिनको मौसम

by समतल अनलाइन

काठमाडौं । पश्चिमी न्युन चापीय प्रणालीको प्रभावका कारण आज (बिहीबार) देशैभर आंशिकदेखि मध्यम बदली रहेको सम्भावना रहेको मौसमविदहरुले जनाएका छन् । पूर्व–पश्चिममा वर्षाको सम्भावना रहेको छ ।

देशको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ । बिहीबार घाम पनि लाग्ने र पानी पनि पर्ने वरिष्ठ मौसमविद् विभूति पोखरेलले जानकारी दिएकी छन् ।

उपत्यकामा पनि वर्षा हुन सक्ने पोखरेलले बताइन् । उनले भनिन्, ‘काठमाडौंमा पनि पानी पर्न सक्छ । तराईमा धुम्म हुने सम्भावना कमै छ । तर, बदली हुने र पानी पर्ने हुन्छ ।’ अर्थात् तराई पनि खुलेको छ । काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपात साथै पहाडी भू–भागका तथा तराई भू–भागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणमा चिसोबाट बच्ने उपाय अपनाउनु हुन र यात्रा गर्दा सामान्य सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।

किन मिलेन बुधबारको मौसम पूर्वानुमान ?
पछिल्लो समय मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले गरेका मौसमी अनुमान निकै मिल्दै आएका थिए । पछिल्लो समय मौसमविदले मौसम खुल्छ, वर्षा वा हिमपात हुन्छ भनेर गरेका अनुमान प्रायः मिलिरहेका थिए ।

तर, यो एउटा अनुमान नै भएकाले कहिलेकाहीं नमिल्न पनि सक्छ । बसधबार यस्तै भयो । हिजो (बुधबार) देशभर जति वर्षा र हिमपात हुन्छ भनेर अनुमान गरिएको थियो, त्यस्तो भएन । यसबारे महाशाखाकी मौसमविद् विभूति पोखरेल भन्छिन्, ‘हो, हिजो (बुधबार) हाम्रो अनुमान मिलेन, मध्य र पूर्वी क्षेत्रमा वर्षा र हिमपात भएन ।’

महाशाखाका मौसमविद्ले हिजो (बुधबार) पश्चिमी न्यून चापीय प्रणालीका कारण देशभरजसो नै हल्कादेखि मध्यमसम्म वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि भारीसम्मै हिमपात हुने अनुमान गरेका थिए । तर पश्चिमी क्षेत्रमा बाहेक देशका अन्य ठाउँमा त्यस्तो भएन ।
यसरी गरिन्छ मौसम अनुमान ?
पछिल्लो समय आधुनिक प्रविधि प्रयोगका कारण मौसमको भविष्यवाणी गर्ने गरिएकाले धेरै मिल्ने गरेको मौसमविद्ले बताएका छन् ।

उनीहरूका अनुसार ८–९ वर्ष अघिसम्म परम्परागत प्रविधिमार्फत मौसमको भविष्यवाणी गरिन्थ्यो । वेदर चार्ट एनालाइसिस अर्थात् नक्सामा पहिलेका डाटा तथा उच्च चापीय र न्यून चापीय क्षेत्र हेरेर मौसम अनुमान गर्नुपर्ने बाध्यता थियो ।

तर अहिले परम्परागत विधिसँगै आधुनिक प्रविधिको पनि प्रयोग गरेर मौसम अनुमान गर्ने गरिन्छ । कम्प्युटर भूउपग्रहको (स्याटेलाइट) तस्बिर र वायुमण्डलको अवस्था हेरेर मौसमको भविष्यवाणी गरिने मौसमविद् बताउँछन् । स्याटेलाइट इमेजसँगै अहिले एनडब्ल्युपी अर्थात् सिस्टम न्युमेरिकल वेदर पेडिक्सनको पनि प्रयोग हुन थालेको मौसमविद्ले जानकारी दिएका छन् ।
यस प्रविधिबाट वायुको बहाव, न्यून चापीय र अधिक चापीय क्षेत्रको अवस्थालगायत विश्लेषण र हरहिसाब गरी मौसम भविष्यवाणी गर्ने गरिन्छ ।

आधुनिक स्याटलाइट डिस्ट्रीब्युट सिस्टममार्फत प्राप्त हुने विश्वका विभिन्न स्थानको मौसम जानकारीलाई थप स्रोतका रूपमा उपयोग गरिने मौसमविद् बताउँछन् । भारतलगायत विभिन्न मुलुकबाट गणितीय प्रविधिबाट प्राप्त हुने मौसम विवरणको पनि सहयोग लिइन्छ ।
यसरी विस्तृत रूपमा विभिन्न वैज्ञानिक प्रविधिको माध्यमबाट अध्ययन तथा विश्लेषणपछि मात्र त्यस दिनको मौसम भविष्यवाणी गरिन्छ ।
कस्तो रहला आउँदा तीन दिन ?
माघ १६ गते (बिहीबार)
दिउँसो – देशभर आशिंकदेखि सामान्यसम्म बदलीको अवस्था रहने सम्भावना छ । देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ ।
राति – देशको पूर्वी भागमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

माघ १७ गते (शुक्रबार)
दिउँसो – देशको पूर्वी भागमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
राति – देशभर सामान्यतया मौसम सफा रहनेछ ।
माघ १८ गते (शनिबार)
दिउँसो – देशभर आशिंकदेखि सामान्यसम्म बदलीको अवस्था रहने सम्भावना छ । देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ ।
राति –देशभर सामान्यतया मौसम सफा रहनेछ ।

 
 
  
 

You may also like