माघे सङ्क्रान्ति अर्थात मकर सङ्क्रान्तिलाई तरुल खाने सङ्क्रान्तिका रुपमा पनि लिने गरिन्छ । शरीरको चिसो फालेर उर्जा दिनका लागि तरुल खाने गरिन्छ । यस वर्ष पाल्पा जिल्लाबाट मात्रै ३५० क्वीन्टल तरुल निर्यात भएको छ ।
जिल्लाको निस्दी गाउँपालिकामा दुई सय क्वीन्टल, पूर्वखोला गाउँपालिकामा एक सय क्वीन्टल र अन्य स्थानमा उत्पादित गरी करिव ३५० क्वीन्टल तरुल निर्यात भएको कृषि ज्ञानकेन्द्र पाल्पाले जनाएको छ ।
माघे सङ्क्रान्ति पर्वलाई लक्षित गरी ठूलो परिमाणमा तरुल बाहिरी बजारमा निर्यात गर्न कृषक सफल भएका छन् । रैथाने बालीअन्र्तगत पर्ने तरुल खेतीलाई कृषकले व्यवसायिकरुपमा अझ अङ्गालेको भने पाइदैन ।
पाखो पखेरा बारीमा तरुल लगाएर कृषकले राम्रो आम्दानी गर्ने सम्भावना रहेकाले यहाँको भौगोलिक भूबनोट मिलेकाले उत्पादन अझ वृद्धि हुने कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार रैथाने बालीअन्र्तगत पर्ने तरुल, कोदो, सखरखण्ड, फापर र बोडालगायतका रैथाने बाली प्रवद्र्धन कार्यक्रम जिल्लामा रहेकाले निस्दी गाउँपालिकाबाट यसवर्ष करिव दुई सय क्वीन्टल तरुल काठमाडौँ र बुटवललगायतका बजारमा निर्यात भएको कृषि शाखाका प्राविधिक सहायक खिमराज कोइरालाले बताउनुभयो ।
“यसवर्ष तरुलको उत्पादन राम्रो भएको छ, कृषकले बाहिरी बजारमा निर्यात गरिरहेका छन्, तरुल विक्रीवितरणबाट राम्रो आम्दानी गर्न थालेका छन्” उहाँले भन्नुभयो ।
निस्दीको मित्याल, झिरुवास, अर्चलेको रनगुवा र गल्धालगायतका स्थानमा तरुलको उत्पादन राम्रो भएको छ । एउटा कृषकले चार सय किलोभन्दा बढीको तरुल उत्पादन गरी विक्री गर्न सफल भएका छन् । मित्यालका अगुवा कृषक सन्तवीर सुनारीले माघे सङ्क्रान्ति पर्वलाई लक्षित गरी ३० हजारभन्दा बढीको तरुल बिक्री गर्नुभएको छ ।
माघे सङ्क्रान्ति बाहेक अन्य समयमा पनि तरुल बजारमा विक्रीवितरण भइरहन्छ । माघे सङ्क्रान्तिमा घिउ, चाकु, तिलको लड्डु र विषेश परिकारमा तरुल खाएर मनाइन्छ । माघे सङ्क्रान्तिका दिन बिहानै स्नान गरी घिउ, चाकु, तिलको लड्डु, हरियो सागपात र तरुल खाने, ब्राम्हणलाई वस्त्र दान गर्ने तथा शरीरमा तोरीको तेल लगाउँदा पोषिलो हुनुका साथै निरोगी हुने जनविश्वास छ ।रासस