प्रदेश ५ सरकारले एसइइका लागि गणित र विज्ञानको ट्युसन पढाउने

by समतल अनलाइन

बुटवल। प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालयले माध्यमिक तहका विद्यार्थीको गणित र विज्ञान विषयको नतिजामा सुधार ल्याउन विषेश कक्षा सञ्चालन गर्ने भएको छ ।

शैक्षिक सत्र २०७५ को एसईई परीक्षामा प्रदेश नम्बर ५ का परीक्षार्थीले गणित र विज्ञानमा नाजुक नतिजा ल्याएको पाईएपछि प्रदेश सरकारले चालु शैक्षिक सत्रमा यस्तो अभियान सुरु गर्ने भएको हो ।

सामाजिक विकास मन्त्री सुदर्शन बरालले विद्यार्थीको मुल्याङ्कनको आधार मानिएको एसईई परीक्षाको नतिजा अनुसार ५ नम्बर प्रदेशका विद्यार्थीको गणित र विज्ञानमा अवस्था अत्यन्तै नाजुक रहेको पाईएकोले सो नतिजामा सुधार ल्याउने उदे्श्यले प्रदेशका सबै विद्यालयमा विषेश कक्षा सञ्चालन गरिने तयारी भएको सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनले भने–‘प्रदेशमा गणित र विज्ञानको नतिजा खास गरी प्रवेशिका एसईईको नतिजा हेर्दा अत्यन्तै न्यून रहेको पाईएकोले सो नतिजा सुधार गर्नको लागि विषेश कक्षा सञ्चालनको तयारी गरेका छौ ।’

प्रदेशको एसईईको नतिजा गणित र विज्ञानको अत्यन्तै कमजोर रहेको हुँदा प्रविधिक शिक्षा, ईन्जिनियरिङ, चिकित्सा क्षेत्र जस्ता विषय पढ्नको लागि प्रतिष्पर्धा गर्न नसक्ने भएको कारणले विषेश कक्षा सञ्चालनमा ल्याउने तयारी गरेको उनले बताए ।
उनले भने–‘ प्रदेशको सामुदायिक विद्यालयका बालबालिकाहरुको गणित र विज्ञानको नतिजाको कारण उनीहरु प्राविधिक शिक्षा अध्ययन गर्नको लागि स्कोर नपुग्ने तथा उनीहरुले पढ्नै नपाउने अवस्था आएकोले विषेश कक्षा सञ्चालन गर्ने योजना हो ।’

शैक्षिक विकास तथा अनुसन्धान महाशाखाका उपसचिव थानेश्वर ज्ञवालीले प्रदेश सरकारले यसवर्ष एसईईमा सहभागी हुने विद्यार्थीलाई लक्षित गरी गणित विज्ञान समाजको सहयोगमा विषेश कक्षा सञ्चालन गरिने बताए ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले प्रदेशको माध्यामिक तहका विद्यार्थीको गणित र विज्ञान विषयको नतिजामा सुधार ल्याउनको लागि संघिय सरकारसंग १० करोड माग गरिएको भए पनि ५ करोड उपलब्ध भएपछि चालु शैक्षिक शत्रका लागि यो अभियान थालेको हो ।

२०७५ सालको एसईईमा प्रदेशको नतिजा अनुसार गणितमा ३७ प्रतिशत बालबालिकाले ई ग्रेड ल्याएको र ६० प्रतिशतले डि ग्रेड नतिजा ल्याएका छन । यसैगरी विज्ञानमा पनि अपेक्षा अनुसारको नतिजा नभएपछि अभियानकै रुपमा लैजाने थालिएको शैक्षिक विकास तथा अनुसन्धान महाशाखाका उपसचिव ज्ञवालीले जानकारी दिए । उनले विज्ञान र गणितका शिक्षकलाई ओरेन्टेशन गरेर कक्षा सुरु गरी कम्तिमा पनि २० प्रतिशत मुनी भार्ने लक्ष्य लिएको बताए । अर्को शैक्षिक शत्रमा थप विस्तृत कार्यक्रम ल्याउन उनले बताए ।

 
 
  
 

You may also like