धनुषामा अवैध उत्खनन्को विरोध गर्ने दिलिपको ट्रिपरले किचेर हत्या

by समतल अनलाइन

धनुषा । धनुषाको मिथिला नगरपालिकामा शुक्रबार बिहान ट्रिपरले किचेर एक युवकको हत्या भएको छ । औरही खोलामा अवैध गिट्टीबालुवा उत्खनन्‌को विरोध गर्दै आएका मिथला नगरपालिका ५ श्रीपुर बस्ने रामजीवन महतोक २४ वर्षीय छोरा दिलीपकुमार महतोलाई नदीमै टिपरले किचेर हत्या गरेको हो ।

धनुषाको औरही खोला उत्खनन्‌को पटक पटक विरोध गर्दै आएका दिलिप प्रहरी प्रशासनसम्म पुगेका थिए । शुक्रबार बिहान साथी रोशन यादवसँग खोलामा मोर्निङ वाक गएको समयमा ना ७ ख ६४१३ नम्बरको ट्रिपरले उनलाई किचेको स्थानियले बताएका छन् ।

घटना लगतै इलाका प्रहरी कार्यालय ढल्केवरको टोली पुगेर शव नियन्त्रणमा लिई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको छ। ट्रिपर इलाका प्रहरी कार्यालय ढल्केबरको नियन्त्रणमा छ । घटनाको प्रकृति हेर्दा नियोजित रुपमा ट्रिपरले किचेर दिलिपको हत्या गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

घटनापश्चात् ट्रिपर चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले बताएको छ । गाउँलाई नै जोखिममा पर्ने गरी औरही–बसही खोलामा भइरहेको अवैध गिट्टी बालुवा उत्खनन्‌को दिलिपको नेतृत्वमा गाउँलेले विरोध गर्दै आएको थिए। रिसिबी साँध्न क्रसर सञ्चालकले योजनाबद्ध रुपमा दिलीपको हत्या गरेको स्थानीयले आरेप लगाएका छन् ।

यता घटनाको विरोधमा गाउँलेले पूर्व–पश्चिम राजमार्ग बिहानैदेखि अवरुद्ध गरेका छन्। मिथिला नगरपालिका ५ श्रीपुर रामलक्ष्मण चोकमा स्थानीयले टायर बालेर राजमार्ग अवरुद्ध गर्दै दोषीलाई कारवाहीको माग गरेको छ।

 
 
  
 

You may also like