जाडाे माैसममा गिजरबाट नुहाउनुहुन्छ ? यी सावधानी अपनाउनुस् है !

by समतल अनलाइन

जाडो दिन प्रतिदिन बढिरहेको छ। जाडो धेरै भएका कारण यो मौसममा पानी चिसो समेत हुने गर्छ। चिसो मौसममा चिसो पानीले नुहाउनु धेरैका लागि कठिन हुन्छ। यसले गर्दा मानिसले नुहाउन तातोपानी प्रयोग गर्ने गर्छ। यसमध्ये गिजर धेरैको रोजाइमा पर्ने गर्छ।

तर, गिजरको प्रयोग सही तरीकाले गर्न नजान्दा धेरैको ज्यान जोखिममा पर्ने गरेको चिकित्सकहरुले बताउने गरेका छन्। गिजरमा नुहाउँदाका फाइदा, बेफाइदा र नुहाउँदा अपनाउनुपर्ने साबधानीका बारेमा पाटन अस्पतालका डा. प्रशन्नराज पौडेल यस्तो भन्छन्।

फाइदा के–के छन्?
जाडो महिनामा गिजर सबैका लागि सहज र सुलभ छ। गिजर अन्य विकल्पहरु भन्दा यो सस्तो पनि छ। यसका कारण धेरैजसो मानिसहरु पानी तताउनका लागि गिजर नै प्रयोग गर्ने गर्छन्।

बेफाइदा के–के छन्?
गिजर प्रयोग गर्दा मानिसले राम्रोसँग साबधानी अप्नाउन नसकेको खण्डमा ज्यान जाने समेत समस्या आउन सक्छ। साधारणतया गिजरले उत्पादन गर्ने भनेकै ग्यास हो। त्यही ग्यासबाट आउने फ्युल्सहरु टक्सिक हुन्छ।

कार्बोन मोनोअक्साइड र नाइट्रोअक्साइड निस्कन्छ, त्यहाँबाट। त्यही कार्बोन मोनो अक्साइडले ज्यान पनि जान सक्छ।

कस्तो सबधानी अप्नाउनु पर्छ?
सामान्यतया: नेपालमा बाथरुम सानो हुने गर्छ। यसै त साँघुरो ठाउँ त्यसमा पनि मानिसहरु नुहाउने समयमा भेन्टिलेसन समेत ढ्यामढुम लगाएर नुहाउने गर्छन्। यसरी नुहाउँदा ग्यासबाट उत्पादन भइरहेको कार्बोन डाइअक्साइड टक्सिक लेभलमा एकदमै चाँडो पुग्छ।

र, मानिसलाई नुहाउँदा नुहाउँदै चक्कर लाग्ने बेहोस हुने हुन्छ। यस्तो बेलामा उनीहरु ढोका खोलेर बाहिर निस्कन सक्दैनन्।

त्यसैले सबैभन्दा पहिला नुहाउने ठाउँ राम्रो भेन्टिलेटर भएको हुनुपर्छ। चाहे जतिसुकै जाडो किन नहोस् गिजरको प्रयोग गरेको छ भने भेन्टिलेटर खोल्नुपर्छ। यसले गर्दा सजिलैसँग हावा प्रवाह हुन सकोस्।

गिजरमा नुहाउँदा यस्तो व्यक्तिलाई अप्ठ्यारो हुने वा यस्तोलाई नहुने भन्ने हुँदैन। जुनसुकै व्यक्तिलाई पनि यस्तो समस्या देखिन सक्छ।

 
 
  
 

You may also like