काठमाडौँ। अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य कारबाही हुन सक्ने भन्दै त्यसका लागि तयार रहन आग्रह गरेको छ ।
‘द वाल स्ट्रिट जर्नल’ ले यस विषयमा जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै बुधबार प्रकाशित गरेको समाचारअनुसार अमेरिका र इजरायल इरानविरुद्ध अर्को चरणको ठूलो सैन्य कारबाहीको तयारीमा जुटेका छन् ।
समाचारमा उल्लेख भएअनुसार मध्यपूर्वमा तैनाथ अमेरिकी सेनाले गोलाबारुदको भण्डार पुनः भरिरहेका छन् भने बमवर्षक र लडाकु विमानलाई सम्भावित आक्रमणका लागि तयारी अवस्थामा राखिएको छ । इजरायलले पनि नयाँ आक्रमणको योजना बनाउँदै सम्भावित लक्ष्यहरू पहिचान गरिसकेको जनाइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने अन्तिम निर्णय भने गरिसकेका छैनन् । यद्यपि, इरानका पूर्वाधार र आणविक केन्द्रलाई लक्षित गरी ठूलो आक्रमण गर्ने योजनातर्फ अमेरिका अघि बढिरहेको समाचारमा उल्लेख छ ।
ट्रम्पले गत साता इरानसँग सम्झौता हुन सक्ने सम्भावना औँल्याउँदै त्यसो नभए अमेरिकाले पुनः बमबारी अभियान सुरु गर्न सक्ने बताएका थिए ।
यसअघि ट्रम्पले मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने बताएका थिए । त्यसैले निर्वाचनपछि अमेरिका र इजरायलले इरानविरुद्ध कस्तो कदम चाल्छन् भन्ने विषयमा चासो बढेको छ ।

