पाल्पाको कराम्दीमा कात्तिक ५ गतेदेखि खुला नकआउट टी–२० क्रिकेट प्रतियोगिता हुने

by समतल अनलाइन
36Shares

पाल्पा । विजयादशमी तथा शुभ दीपावली २०८३ को अवसरमा पाल्पाको कराम्दीमा दोस्रो संस्करणको खुला नकआउट टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। स्वर्गीय गीता पाण्डे र स्वर्गीय मिनप्रसाद पराजुलीको स्मृतिमा आयोजना हुन लागेको प्रतियोगिता कात्तिक ५ गतेदेखि कराम्दी खेलमैदानमा सञ्चालन हुनेछ।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको समाजका अध्यक्ष नारायणबहादुर पहराईले जानकारी दिए। क्रिकेट खेलको विकास, खेलकुदमार्फत स्वास्थ्य प्रवर्द्धन तथा युवामा अनुशासन, एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए।
क्रिकेटप्रति युवाको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै प्रतियोगितालाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने तयारी गरिएको अध्यक्ष पहराईले बताए। गत वर्षको तुलनामा यस वर्ष पुरस्कार राशि वृद्धि गरिएको र सहभागी टोलीको संख्या पनि बढ्ने अपेक्षा गरिएको उनले जानकारी दिए।
प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले ३१ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने समाजका महासचिव तथा खेल संयोजक युवराज पराजुलीले बताए। प्रतियोगितामा उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान तथा म्यान अफ द म्याचलाई समेत विशेष पुरस्कार प्रदान गरिने उनले जानकारी दिए।
समाजका संस्थापक अध्यक्ष तथा आर्थिक संयोजक तुल्सीराम पराजुली र आर्थिक सहसंयोजक प्रेमप्रकाश पाण्डेका अनुसार प्रतियोगितामार्फत पाल्पा क्षेत्रमा क्रिकेट खेलको महत्व र लोकप्रियता बढाउने लक्ष्य राखिएको छ। उनीहरूले खेलकुदको विकाससँगै स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
गत वर्ष आयोजित प्रतियोगिताको उपाधि लुम्बिनी स्पोर्ट्स, कपिलवस्तुले जितेको थियो। दोस्रो संस्करणको प्रतियोगिताले पनि क्रिकेटप्रेमी, खेलाडी तथा स्थानीय युवामा उत्साह थप्ने आयोजकको अपेक्षा छ।

You may also like

This will close in 0 seconds