काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यस वर्षको दशैँमा देशका अधिकांश स्थानमा मौसम अनुकूल रहने अनुमान गरेको छ। यद्यपि, केही हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा, हिमपात र मेघगर्जनसहित चट्याङ पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाले जारी गरेको दशैँ विशेष मौसम बुलेटिनअनुसार नेपालबाट मनसुन बाहिरिसकेकाले दशैँका समयमा ठूलो वर्षा हुने सम्भावना न्यून रहेको छ। तर, केही स्थानमा स्थानीय मौसमी गतिविधिका कारण हल्का वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
आज अष्टमीका दिन देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि आंशिक बदली हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
यसैगरी, हिमाली क्षेत्र तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्नेछ।
अष्टमीको राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ। तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ।
त्यस्तै, कात्तिक २, ३ र ४ गते अर्थात् नवमीदेखि दशमीसम्म कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा पनि आंशिक बादल लाग्ने पूर्वानुमान गरिएको छ। देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।
यस अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
दशैँका अधिकांश दिन मौसम अनुकूल रहने अनुमान गरिए पनि हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्ने सर्वसाधारणले सम्भावित वर्षा, हिमपात, चट्याङ तथा बिहानपख लाग्ने हुस्सु र कुहिरोलाई ध्यानमा राख्न महाशाखाले सुझाव दिएको छ।
36
previous post


