नेपाली कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि मतदान सम्पन्न, ७ हजार ४९ मत खस्यो

by समतल अनलाइन
25Shares

नेपाली कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि शुक्रबार भएको मतदान सम्पन्न भएको छ। निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटवालका अनुसार कुल ७ हजार ३१७ मतदातामध्ये ७ हजार ४९ जनाले मतदान गरेका छन्।

मतदान सम्पन्न भएसँगै मतपेटिका सिलबन्दी गर्ने प्रक्रिया अघि बढाइएको कटवालले जानकारी दिए। मतदानका लागि राष्ट्रिय सभागृहमा बागमती प्रदेशका मतदाताको व्यवस्था गरिएको थियो भने खुलामञ्चमा अन्य ६ प्रदेशका मतदाताले मतदान गरेका थिए।

मतपेटिका सिलबन्दी गरेपछि खुलामञ्चमा रहेका मतपेटिका राष्ट्रिय सभागृहमा ल्याइनेछ। त्यसपछि आवश्यक मुचुल्का तयार गरी सभापतिका उम्मेदवारहरूबीच सहमति जुटाएर सभापति पदको मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ। अन्य पदका मतपेटिकाहरू भने पार्टीको केन्द्रीय कार्यालय सानेपा लगिनेछन्।

नेपाली कांग्रेसको २९७ सदस्यीय केन्द्रीय कार्यसमितिमा सभापतिबाट ६६ जना मनोनीत हुने व्यवस्था छ। शुक्रबार भएको निर्वाचनमार्फत बाँकी २२८ पदाधिकारी तथा केन्द्रीय सदस्य चयनका लागि मतदान गरिएको हो।

You may also like