अवकाशको चार दिनअघि एआइजी दाहाल बर्खास्त

by समतल अनलाइन
24Shares

काठमाडौं । अवकाशमा जान चार दिन मात्रै बाँकी रहेका बेला सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाल सेवाबाट बर्खास्त भएका छन्। सुरक्षासम्बन्धी संवेदनशील सूचना आदानप्रदान गरेको विषयमा भएको छानबिनपछि गृह मन्त्रालयले उनलाई विभागीय कारबाही गर्दै सेवाबाट हटाएको हो।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार दाहाललाई असोज २३ गतेदेखि लागू हुने गरी सेवाबाट हटाइएको छ। आचरणसम्बन्धी विषय पटक–पटक उल्लंघन गरेको, अनुशासनहीन कार्य गरेको तथा सरकार र आफू कार्यरत संगठनको मानप्रतिष्ठा एवं छविमा आँच पुर्‍याएको कसुरमा उनीमाथि कारबाही गरिएको मन्त्रालयले जनाएको छ।

चारवर्षे पदावधि पूरा गरी दाहाल असोज २७ गते अवकाशमा जाने तयारीमा थिए। सशस्त्र प्रहरी नियमावलीमा रहेको पदावधि एक वर्ष थप गर्न सकिने व्यवस्थाअनुसार उनको म्याद थपका लागि सशस्त्र प्रहरी बल मुख्यालयले गृह मन्त्रालयमा प्रस्तावसमेत पठाएको थियो। तर, पदावधि थपको प्रस्ताव विचाराधीन रहेकै बेला उनी सेवाबाट हटाइएका छन्।

दाहालमाथि इनाम सापकोटासँग सुरक्षासम्बन्धी संवेदनशील विषयमा संवाद गरेको आरोपमा छानबिन भएको थियो। उक्त प्रकरणमा उनी निलम्बनमा परेका थिए। छानबिनका लागि तोकिएकी एआइजी अञ्जनी पोखरेलले बिहीबार प्रतिवेदन बुझाएपछि शुक्रबार बिहान उनलाई सेवाबाट हटाउन सिफारिस गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ।

स्रोतका अनुसार छानबिन प्रतिवेदनमा प्रधानमन्त्रीसँग सम्बन्धित संवेदनशील सूचना आदानप्रदान गरेको प्रमाणसमेत समावेश गरिएको छ। दाहालको बयान पनि प्रतिवेदनमा संलग्न छ। बयानका क्रममा उनले सापकोटासँग संवाद भएको स्वीकार गर्दै उनी आफ्नो जिल्लाबासी भएको बताएका थिए।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ११० मा प्रहरी कर्मचारीलाई सामान्य तथा विशेष सजाय दिन सकिने व्यवस्था छ। सामान्य सजायमा ग्रेड, तलब वृद्धि र बढुवा रोक्का गर्नेदेखि पद घटुवा गर्नेसम्मका प्रावधान छन्। विशेष सजायअन्तर्गत भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गर्ने व्यवस्था छ।

नियमावलीको नियम ११३ ले सेवाबाट हटाउन वा बर्खास्त गर्न सक्ने कानुनी आधार तोकेको छ। सोही कानुनी व्यवस्थाअनुसार दाहालमाथि विभागीय कारबाही गरिएको हो। दाहाल यसअघि पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरिएको घटनाका क्रममा राति नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेपछि पनि चर्चामा आएका थिए।

You may also like