बाढी प्रभावित परिवारलाई ज्ञानपुञ्ज इङ्ग्लिस स्कुलको आर्थिक सहयोग

by समतल अनलाइन
32Shares

बुटवल । बुटवल–११, नहरपुरस्थित ज्ञानपुञ्ज इङ्ग्लिस स्कुलले तिनाउ नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई आर्थिक सहयोग गरेको छ। विद्यालयले शुक्रबार बुटवल–११, टपमझुवाका बाढी प्रभावित परिवारको बासस्थानमै पुगेर सहयोग रकम हस्तान्तरण गरेको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद भट्टराईले बाढी प्रभावित प्रत्येक परिवारलाई पाँच हजार रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गरेका हुन्।

विद्यालयबाट सहयोग प्राप्त गरेका प्रभावित परिवारको प्रतिनिधित्व गर्दै नरेन्द्र दर्जीले विपद्का बेला विद्यालयले देखाएको सहयोग र सद्भावले समाजमा अझै मानवता जीवित रहेको उदाहरण प्रस्तुत गरेको बताए। निजी विद्यालय भएर पनि ज्ञानपुञ्जले आफूहरूको दुःखमा साथ दिन आएकोमा उनले खुसी व्यक्त गरे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भट्टराईले ज्ञानपुञ्ज स्थानीय समुदायको सुख–दुःखमा सधैँ सँगै रहने प्रतिबद्धता व्यक्त गरे। समुदायमा आइपर्ने विपद् तथा समस्यामा सक्दो सहयोग गर्नु विद्यालयको सामाजिक दायित्व भएको उनको भनाइ थियो।

विद्यालयका प्राचार्य शंकर भण्डारीले बाढीबाट प्रभावित परिवारप्रति गहिरो सहानुभूति प्रकट गर्दै विद्यालय विद्यार्थीलाई शिक्षा प्रदान गर्ने संस्थामात्र नभई समाजलाई सही दिशानिर्देश गर्ने कार्यमा समेत सक्रिय रहेको बताए।

उनले विद्यालयले सस्तो प्रचारबाजी, झुटो प्रचार तथा अस्वस्थ प्रतिस्पर्धामा विश्वास नगरी वास्तविक अर्थमा समाजका लागि काम गरिरहेको उल्लेख गरे। सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै समुदायको हितमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको पनि उनले बताए।
त्यस्तै, स्थानीय युवा समाजसेवी प्रकाश परियारले ज्ञानपुञ्ज इङ्ग्लिस स्कुललाई नमुना विद्यालयको संज्ञा दिँदै पछिल्लो समय विद्यालयले सञ्चालन गरिरहेका कार्यक्रमहरू फरक, रचनात्मक र प्रेरणादायी रहेको बताए।

सहयोग हस्तान्तरण कार्यक्रममा बाढीबाट प्रभावित चार परिवारका सदस्य, स्थानीय समुदायका प्रतिनिधि, विद्यालयका सहप्राचार्य भीम बस्नेत तथा शिक्षकहरूको उपस्थिति रहेको थियो।

विपद्का कारण प्रभावित बनेका परिवारलाई विद्यालयले गरेको आर्थिक सहयोगले उनीहरूलाई राहत मिल्नुका साथै स्थानीय समुदायमा आपसी सद्भाव, सहकार्य र मानवीय सेवाको भावनालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

You may also like