बुटवल, २३ असोज । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले निजी क्षेत्रमा आशा र विश्वास जगाउन नसकेको बताएका छन्। निजी क्षेत्रलाई नियन्त्रण गरेर समस्याको समाधान नहुने उल्लेख गर्दै उनले उद्योगी–व्यवसायीको मनोबल बढाउन आवश्यक रहेको बताए।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७३औँ साधारणसभा तथा २६औँ अधिवेशनको शुक्रबार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले पछिल्लो समय उद्योगधन्दाको व्यापार घट्नुका साथै बजारसमेत सुस्ताएको बताए। अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रलाई प्रोत्साहन गर्दै लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य मञ्जु भुसालले रुपन्देही तथा आसपासका क्षेत्रमा निर्माण सम्पन्न हुन नसकेका महत्वपूर्ण विकास आयोजनालाई शीघ्र पूरा गर्न सरकारको ध्यानाकर्षण गराइन्। उनले मोतिपुर औद्योगिक क्षेत्र, झुम्सा खानेपानी आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र औद्योगिक प्रदर्शनीस्थललगायतका आयोजनालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताइन्।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई प्रमुख व्यापारिक केन्द्रका रूपमा विकास गर्न स्थानीय सरकारका तर्फबाट समन्वय र सहकार्य भइरहेको बताइन्।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले भारतीय खुला सीमा, कर तथा राजस्व प्रणाली र लगानी सुरक्षालगायतका विषयमा सरकारले सम्बोधन गर्नुपर्ने भन्दै महासंघले ४२ बुँदे सुझाव दिएको जानकारी दिए।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले आफ्नो कार्यकालको प्रतिवेदन प्रस्तुत गर्दै नयाँ र पुरानो पुस्ताबीच समन्वय कायम गरी संस्थागत विकासका काम अघि बढाइएको बताए। उद्योगी, व्यवसायी तथा विज्ञहरूसँग छलफल गरेर राजस्व, पूर्वाधार विकास र नीतिगत सुधारका विषयमा पहल गरिएको उल्लेख गर्दै उनले बुटवल उपमहानगरपालिकासँग सम्बन्धित विषयमा समेत संघले सहकार्य गर्दै आएको बताए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला–नगर उपाध्यक्ष कृष्णप्रसाद शर्मा, वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठ, लुम्बिनी प्रदेश अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, महासंघका कार्यकारिणी सदस्य कृष्ण कटुवाल, चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदी, रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुली, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे तथा महासचिव मुक्तिप्रसाद अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
साधारणसभाका अवसरमा संघको कार्यालय परिसरमा निर्माण गरिएको संस्थापक अध्यक्ष पद्यमचन्द्र श्रेष्ठको अर्धकदको सालिक अनावरण गरिएको थियो। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले उक्त सालिक अनावरण गरेका हुन्।
यसैगरी, संघले २०४१ सालमा पहिलोपटक प्रकाशित गरेको स्मारिकाको पुनर्मुद्रण गर्नुका साथै ‘हाम्रो बुटवल स्मारिका २०८३’ पनि विमोचन गरेको छ।

