बागलुङमा सडक खन्ने क्रममा माटोको ढिस्को खस्दा दुई मजदुरको मृत्यु

by समतल अनलाइन
32Shares

बागलुङ । निसीखोला गाउँपालिका–३, बोहोरागाउँमा सडक स्तरोन्नतिको काम भइरहेका बेला माटोको ढिस्को खस्दा दुई जना मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

बिहीबार बिहान झिवाखोलाबाट बोहोरागाउँतर्फ जाने भित्री सडकखण्डमा सडक खन्ने क्रममा माथिबाट अचानक माटोको ठूलो ढिस्को खसेको थियो । लु १ क ३४४६ नम्बरको जेसीबीमार्फत सडक खन्ने काम भइरहेको समयमा ढिस्को खस्दा सडक निर्माणमा संलग्न मजदुरहरू पुरिएका हुन् ।

ढिस्कोमा पुरिएर सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुरको गाईघाटका ३२ वर्षीय राजु थापामगरको मृत्यु भएको प्रहरीले जनाएको छ । उद्धार टोलीले उनीहरूलाई माटोको ढिस्कोमा पुरिएको अवस्थामा फेला पारेको थियो ।

दुर्घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्णबहादुर घर्ती गम्भीर घाइते भएका छन् । उनलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि बुर्तिबाङ अस्पताल पठाइएको छ ।

सडक स्तरोन्नतिको काम भइरहेका बेला माथिबाट अचानक माटो खस्दा दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ ।

You may also like