नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, ७५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै

by समतल अनलाइन
53Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन समारोह आज अपराह्न काठमाडौंको खुलामञ्चमा आयोजना हुँदैछ।

महाधिवेशनअन्तर्गत असोज १९ र २० गते बन्द सत्र सञ्चालन हुनेछ भने असोज २१ र २२ गते नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइनेछ। निर्वाचन राष्ट्रिय सभागृह र नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने कांग्रेसले जनाएको छ।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनमा स्वदेश तथा विदेशबाट ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन्। महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूले शनिबारदेखि नै पार्टी केन्द्रीय कार्यालय बीपी नगर, सानेपामा दर्ता गराइरहेका छन्। दर्ताका लागि प्रदेशअनुसार छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको छ।

प्रतिनिधिले ३५ सय रुपैयाँ शुल्क तिरेर दर्ता गरेपछि महाधिवेशनसम्बन्धी सामग्रीसहितको झोला प्राप्त गर्नेछन्। झोलामा पार्टीको विधान, कापी, कलमलगायत सामग्री राखिएको छ।

विभिन्न दलका शीर्ष नेता सहभागी हुँदै
महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन्। प्रवक्ता चालिसेका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई र राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम पौडेल उद्घाटन समारोहमा सहभागी हुने तय भएको छ।

कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई पनि महाधिवेशन उद्घाटनका लागि आमन्त्रण गरिएको प्रवक्ता चालिसेले जानकारी दिएका छन्। देउवा भने आफ्नै समूहको छुट्टै महाधिवेशन प्रक्रियामा अघि बढिरहेका छन्।

विदेशी अतिथिका रूपमा सोसलिस्ट इन्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा नेपाल आइसकेकी छन्। साथै, विदेशस्थित जनसंगठनका प्रतिनिधिहरू पनि महाधिवेशनमा सहभागी हुन काठमाडौं आएका छन्।

प्रतिनिधिको बास आफैंले व्यवस्थापन गर्नुपर्ने
महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि कांग्रेसले खाना र खाजाको व्यवस्था गर्ने भए पनि आवासको व्यवस्था भने पार्टीले नगर्ने भएको छ। प्रतिनिधिका लागि भृकुटीमण्डपमा बिहानको खाजा, दिउँसोको खाना र बेलुकाको खाजाको व्यवस्था गरिनेछ।

आवास व्यवस्थापन उपसमितिका संयोजक रमेश धमलाका अनुसार पार्टीले सुन्धारा, ठमेल, नयाँ बसपार्क, कलंकी र विमानस्थल आसपासका होटलहरूसँग प्रतिनिधिको आवासका लागि समन्वय गरेको छ।

प्रचारप्रसारमा तडकभडक गर्न नपाइने
कांग्रेसले १५औँ महाधिवेशनमा उम्मेदवारको प्रचारप्रसारलाई व्यवस्थित र मितव्ययी बनाउन कडा आचारसंहिता लागू गरेको छ।

महाधिवेशन स्थल तथा आसपासका क्षेत्रमा फ्लेक्स, ब्यानर, पोस्टर, पम्प्लेटलगायत कुनै पनि प्रकारका छापा तथा भौतिक प्रचार सामग्री राख्न, टाँस्न वा वितरण गर्न प्रतिबन्ध लगाइएको छ। सार्वजनिक सडक तथा महाधिवेशन स्थल बाहिर पनि भौतिक प्रचार सामग्री प्रदर्शन गर्न पाइने छैन।

उम्मेदवारहरूले सामाजिक सञ्जाल, अनलाइन तथा अन्य विद्युतीय माध्यमबाट भने आफ्ना एजेन्डा र उम्मेदवारीबारे प्रचार गर्न पाउनेछन्।

केन्द्रीय निर्वाचन समितिले देशका विभिन्न क्षेत्रमा भएको प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भएको र मुलुक शोक तथा पुनरोत्थानको अवस्थामा रहेकाले महाधिवेशनलाई मर्यादित, मितव्ययी र अनुशासित बनाउन यस्तो व्यवस्था गरिएको जनाएको छ।

आचारसंहिता उल्लङ्घन भए नियमअनुसार कारबाही गरिने समितिका सदस्यसचिव राजु कटुवालले बताएका छन्।

२३८ सदस्यीय केन्द्रीय समिति बनाउने तयारी
कांग्रेसले १५औँ महाधिवेशनपछि केन्द्रीय कार्यसमितिको आकार पनि बढाउने तयारी गरेको छ। हाल १६४ सदस्यीय रहेको केन्द्रीय कार्यसमितिलाई बढाएर २३८ सदस्यीय बनाउने प्रस्ताव गरिएको छ।

पदाधिकारीको संख्या १४ बाट बढाएर १७ पुर्‍याइएको छ। सभापतिसहित १३ पदाधिकारी र १५६ जना सदस्य महाधिवेशनबाट निर्वाचित भएर आउनेछन्।

नयाँ व्यवस्थाअनुसार सभापतिले महाधिवेशनपछि तीन सहमहामन्त्रीसहित ६१ जना केन्द्रीय सदस्य मनोनयन गर्न पाउनेछन्। यसअघि सभापतिले कोषाध्यक्ष मात्र मनोनयन गर्ने व्यवस्था थियो। मनोनीत हुने तीन सहमहामन्त्रीमध्ये कम्तीमा एक जना महिला अनिवार्य गरिएको छ।

आठ समूहबाट एक–एक सहमहामन्त्री निर्वाचित हुने पुरानो व्यवस्था भने यथावत् राखिएको छ। यससँगै कम्तीमा एक निर्वाचित र एक मनोनीत गरी दुई महिला पदाधिकारी सुनिश्चित हुने व्यवस्था गरिएको छ।

सभापतिले मनोनयन गर्न पाउने केन्द्रीय सदस्यको संख्या पनि ४१ बाट बढाएर ६१ पुर्‍याइएको छ। त्यस्तै, ३५ वर्षमुनिका २१ जना युवालाई आरक्षणमार्फत केन्द्रीय समितिमा ल्याउने तयारी गरिएको छ। यसअन्तर्गत प्रत्येक प्रदेशबाट कम्तीमा एक महिलासहित १४ जना र खुलातर्फबाट ७ जना निर्वाचित हुने व्यवस्था गरिएको छ।

You may also like