काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देशमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–८ बस्ने, वडा नम्बर २१ घर भएका ४५ वर्षीय गिरिस विलास जोशी र काठमाडौं महानगरपालिका–१३ बस्ने धादिङको गल्छी गाउँपालिका–३ का ४७ वर्षीय निलकण्ठ खनाल रहेका छन् ।
प्रहरीका अनुसार गिरिसले ग्रिस पठाइदिने भन्दै एक जना पीडितबाट २ लाख रुपैयाँ लिएका थिए। त्यसैगरी निलकण्ठले क्रोएशिया पठाइदिने भन्दै तीन जना पीडितबाट ९ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरी परेको थियो ।
पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गिरिसलाई काठमाडौं महानगरपालिका–२९ र निलकण्ठलाई वडा नम्बर १३ बाट पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

