बुटवलमा युवाको ऊर्जा र सडक संस्कृतिसँग जोडियो ‘पल्सर आरपीएम’

by समतल अनलाइन
42Shares

बुटवल । युवापुस्ताको ऊर्जा, सिर्जनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले बुटवलमा ‘पल्सर आरपीएम’ कार्यक्रम आयोजना गरिएको छ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका क्षेत्रमा रहेको ढुंगा स्केट एड स्केट पार्कमा आयोजित कार्यक्रममा मोटरसाइकल स्टन्टसँगै विभिन्न साहसिक खेल तथा सडक संस्कृतिसँग सम्बन्धित प्रस्तुति गरिएको थियो।

कार्यक्रममा बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, र्‍याप, डिजे प्रस्तुति तथा ग्राफिटीलगायत गतिविधि प्रस्तुत गरिएका थिए। विभिन्न प्रस्तुति हेर्न पुगेका युवायुवतीले कार्यक्रमलाई मनोरञ्जनका साथ अवलोकन गरेका थिए।

कार्यक्रमले बुटवल तथा आसपासका युवालाई आफ्नो प्रतिभा, सीप, रुचि र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर प्रदान गरेको आयोजक पक्षका जागृत पहाडीले बताए।

उनका अनुसार मोटरसाइकल, साहसिक खेल, संगीत र सडक संस्कृतिलाई एउटै मञ्चमा जोड्दै युवाको आत्मविश्वास, सीप र आत्मअभिव्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

यसअघि काठमाडौंमा सुरु गरिएको ‘पल्सर आरपीएम’ कार्यक्रम राजधानीबाहिर पहिलोपटक बुटवलमा आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रममार्फत युवापुस्तामा लोकप्रिय बन्दै गएका सडक संस्कृति र साहसिक गतिविधिलाई थप प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

You may also like