निसीखोलाका विपद्पीडित परिवारलाई पश्चिम बाग्लुङ–रुपन्देही सम्पर्क केन्द्रको राहत

by समतल अनलाइन
30Shares

बाग्लुङ । बाढीपहिरो तथा अन्य विपद्का कारण पूर्ण रूपमा घरविहीन भएका निसीखोला गाउँपालिकाका परिवारलाई पश्चिम बाग्लुङ–रुपन्देही सम्पर्क केन्द्र, रुपन्देहीले राहत सामग्री उपलब्ध गराएको छ।

सम्पर्क केन्द्रले विपद्पीडित परिवारका लागि ब्ल्याङ्केट, बेडसिट, डसना, सिरानीलगायतका आवश्यक सामग्री हस्तान्तरण गरेको हो। घरबारविहीन अवस्थामा रहेका परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउने उद्देश्यले राहत वितरण गरिएको संस्थाले जनाएको छ।

राहत सामग्री हस्तान्तरण कार्यक्रममा सम्पर्क केन्द्रका अध्यक्ष देव कुँवर, कोषाध्यक्ष मेगबहादुर शाही, प्रवक्ता दिनेश घिमिरे, निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुन, वडा नम्बर ३ र ४ का वडाध्यक्ष, पूर्वसांसद, पूर्वगाउँपालिका अध्यक्ष, सुरक्षाकर्मी, पत्रकार, स्थानीय बुद्धिजीवी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

कार्यक्रममा निसीखोला गाउँपालिकाका प्रतिनिधिहरूले विपद्का समयमा पश्चिम बाग्लुङ–रुपन्देही सम्पर्क केन्द्रले गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए। विपद्मा परेका परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउनु मानवीय दृष्टिले महत्वपूर्ण कार्य भएको उनीहरूको भनाइ थियो।

राहत अभियानका लागि पश्चिम बाग्लुङबाट रुपन्देहीमा बसोबास गर्दै आएका व्यक्तिहरूले आपसमा रकम संकलन गरेका थिए। आफ्नै गाउँठाउँमा विपद् पर्दा भौगोलिक रूपमा टाढा रहे पनि सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले संकलित रकमबाट राहत सामग्री खरिद गरी वितरण गरिएको सम्पर्क केन्द्रले जनाएको छ।

सम्पर्क केन्द्रले निसीखोलासँगै बाढीपहिरोबाट प्रभावित तमानखोला गाउँपालिकाका परिवारलाई समेत राहत सामग्री उपलब्ध गराउने तयारी गरेको जनाएको छ।

आफ्नो गाउँका विपद्पीडितको दुःखमा साथ दिन पाएकोमा सहयोगदाता र अभियानमा सहभागीहरू खुसी भएका छन्। राहत अभियानले पश्चिम बाग्लुङबाट रुपन्देहीमा बसोबास गर्दै आएका व्यक्तिहरूबीचको सामाजिक सम्बन्धसँगै गाउँप्रतिको अपनत्व र आपसी सहयोगको भावनालाई थप बलियो बनाएको स्थानीयवासीको भनाइ छ।

You may also like