बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट वरिष्ठ समाजसेवी तथा उद्योगी चुन्नप्रसाद पौडेल सर्वाधिक मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।
क्षेत्रीय अधिवेशनमा पौडेलले ४९१ मत प्राप्त गर्नुभएको हो । कुल ८५६ मतदाता रहेको रुपन्देही–२ मा ८३६ मत खसेको थियो । निर्वाचन अधिकृत डा. ओमप्रसाद अर्यालका अनुसार पौडेलले क्षेत्रबाट महाधिवेशन प्रतिनिधितर्फ सबैभन्दा बढी मत प्राप्त गर्नुभएको हो ।
पौडेलले यसअघि सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा समेत रुपन्देही–२ बाट सर्वाधिक मत प्राप्त गर्नुभएको थियो । गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि उहाँ रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्नुभएको थियो ।
यशोधा ग्रुप तथा बुटवल हस्पिटल प्रा.लि.का अध्यक्षसमेत रहनुभएका पौडेल सामाजिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ । कांग्रेसको क्षेत्रीय अधिवेशनबाट पुनः सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि उहाँको राजनीतिक तथा संगठनात्मक भूमिकालाई लिएर समर्थकहरू उत्साहित देखिएका छन् ।
रुपन्देही–२ को अधिवेशनबाट पौडेलसहित खुलातर्फ १० जना तथा विभिन्न समावेशी क्लस्टरबाट समेत महाधिवेशन प्रतिनिधिहरू निर्वाचित भएका छन् ।

