भैरहवा सीमा नाकामा २ करोड ५१ लाखको गरगहना बरामद, एक महिला पक्राउ

by समतल अनलाइन
48Shares

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित सीमा जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१ लाख रुपैयाँभन्दा बढी मूल्यको गरगहना बरामद गरेको छ। प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेकी एक महिलालाई नियन्त्रणमा लिएर उनको साथबाट उक्त गरगहना बरामद गरेको हो।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा काठमाडौं महानगरपालिका–१९ बस्ने ४६ वर्षीया इला पटेललाई नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी नायब उपरीक्षक गोपीकृष्ण भट्टराईको कमान्डमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सीमा जाँचकक्षमा भारतबाट नेपालतर्फ आउँदै गरेकी पटेललाई जाँच गर्ने क्रममा उनको साथबाट शंकास्पद अवस्थामा ठूलो परिमाणमा गरगहना फेला पारेको जनाएको छ।

प्रहरीका अनुसार पटेलको साथबाट विभिन्न डिजाइन तथा आकारका हार, औँठी, चुरा, माला, सिक्री, झुम्का, गोली औँठी, लकेट, पोते, बाली तथा जुली, टप, नाकको फुली, पत्थरवाला हार र ब्रासलेटलगायतका गरगहना बरामद भएका छन्।

बरामद गरगहनाको कुल तौल दुई किलो ६०५ ग्राम रहेको छ। गहनामा रहेको सुन तथा अन्य धातुको वास्तविक परिमाण खुलाउन सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघमा परीक्षणका लागि पठाइएको थियो। परीक्षणका क्रममा गहनामा रहेको सुनको मात्रा करिब एक किलो रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद गरगहनाको भित्री भागमा अन्य धातु प्रयोग गरिएको र बाहिरी भागमा सुनको लेपन गरिएको पाइएको छ।

सशस्त्र प्रहरी नायब उपरीक्षक भट्टराईका अनुसार प्रचलित बजार मूल्यका आधारमा बरामद गरगहनामा रहेको सुनको मूल्य दुई करोड ५१ लाख ९३ हजार ३५० रुपैयाँ कायम गरिएको छ।

बरामद गरगहना तथा नियन्त्रणमा लिइएकी पटेललाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि भैरहवा भन्सार कार्यालय रुपन्देहीमा बुझाइएको छ।

भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बरामद गरगहनाका सम्बन्धमा आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो।

You may also like