विकास पाण्डे सीएनआईवाईईएफ लुम्बिनीको नयाँ अध्यक्ष

by समतल अनलाइन
17Shares

बुटवल । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) लुम्बिनीको वार्षिक साधारणसभाले विकास पाण्डेलाई नयाँ अध्यक्षमा चयन गरेको छ।

साधारणसभाको उद्घाटन नेपाल उद्योग परिसंघका संस्थापक तथा उद्योगपति विनोद चौधरीले गरेका थिए। कार्यक्रममा चौधरीले युवा पुस्ताको ऊर्जा, नयाँ सोच र अनुभवी पुस्ताको ज्ञानलाई एकीकृत गर्दै देशको नेतृत्व अघि बढाउनुपर्नेमा जोड दिए।

नेपालको पछिल्लो तीन दशकको आर्थिक तथा राजनीतिक अवस्थाको चर्चा गर्दै उनले परिवर्तनलाई संस्थागत गर्न नयाँ पुस्ताको भूमिका महत्वपूर्ण हुने बताए। संक्रमणकालीन राजनीतिक अवस्थाका कारण विभिन्न विकृति भित्रिएको र त्यसको असर आर्थिक क्षेत्रमा समेत परेको उनको भनाइ थियो।

नेपालमा ठूलो संख्यामा युवाहरू सामान्य रोजगारीका लागि विदेशिनुपर्ने अवस्था रहेको उल्लेख गर्दै चौधरीले यसको असर परिवार र सामाजिक संरचनामा समेत परेको बताए। उनले भने, “हरेक घर टुट्यो, सबको मन टुट्यो । यसले एउटा फरक प्रकारको आँधी ल्यायो र धेरै जनधनको नाश भयो।”

नयाँ पुस्ताले देशको नेतृत्व गर्नुपर्ने अवस्था आए पनि परम्परागत राजनीतिक दलहरू समयअनुकूल अघि बढ्न नसकेको चौधरीको भनाइ थियो। अहिलेको पुस्ता नयाँ सोच र प्रविधिसहित अघि बढिरहेको तथा नेपाल कृत्रिम बुद्धिमत्ता (एआई) को युगमा प्रवेश गरिसकेको उल्लेख गर्दै उनले युवा शक्ति र अनुभवी पुस्ताको ज्ञानलाई समेटेर अघि बढ्नुपर्ने बताए।

नेतृत्व छनोट गर्दा राजनीतिक पहुँचभन्दा विशेषज्ञता र क्षमतालाई आधार बनाउनुपर्ने धारणा राख्दै चौधरीले कानुनी प्रणालीलाई समेत समयअनुकूल सुधार गर्नुपर्ने बताए। देशमा तीव्र परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उनले अहिले देखिएको परिवर्तनलाई सर्तरहित सहयोग आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा. लेखजंग थापाले सूचना तथा प्रविधिको पहुँचका कारण विश्व सानो बन्दै गएको र यसले नेपालका लागि नयाँ अवसर सिर्जना गरेको बताए। नेपालमै बसेर आर्थिक विकास गर्ने लक्ष्यका साथ अघि बढ्न उनले युवालाई आग्रह गरे।

प्रतिनिधिसभा सदस्य सुलभ खरेल, नेपाल उद्योग परिसंघका बोर्ड सदस्य प्राची अग्रवाल, सीएनआईवाईईएफका केन्द्रीय अध्यक्ष सुगम घिमिरे, सीएनआई लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलम तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले प्रविधि, युवा र पर्यटनलाई आर्थिक विकासको आधार बनाउनुपर्नेमा जोड दिए।

मञ्चका संस्थापक अध्यक्ष राजन कसजुले आफ्नो कार्यकालमा भएका कार्यक्रम तथा त्यसबाट युवा उद्यमी र समुदायमा परेको प्रभावबारे जानकारी गराए। निर्देशक अभिनव थापाले युवालाई संगठित गर्ने, नयाँ प्रविधि सिकाउने, उद्योग भ्रमणमार्फत अनुभव हासिल गराउने तथा नीतिगत विषयमा छलफल गर्ने कार्यलाई प्राथमिकता दिइएको बताए।

साधारणसभाबाट मञ्चको नयाँ बोर्डसमेत चयन गरिएको छ। अध्यक्षमा विकास पाण्डेसहित आईपीपीमा राजन कसजु, लर्निङ चेयरमा विवेक कसौधन, ग्रोथ एन्ड एक्सपान्सन चेयरमा अभिनव थापा, फाइनान्स चेयरमा अभिषेक पाठक र मेम्बरसिप चेयरमा अनिश पाठक चयन भएका छन्।

त्यस्तै, नेटवर्क एन्ड कम्युनिकेसन चेयरमा अर्जुन पाठक, स्टार्टअप चेयरमा अनमोल मित्तल तथा एक्जिक्युटिभ डाइरेक्टरमा रुस्तम कँडेल चयन भएका छन्। फाइनान्स को-चेयरमा आशिष घिमिरे र मेम्बरसिप को-चेयरमा अमृत भुसाल रहेका छन्।

नवनिर्वाचित अध्यक्ष पाण्डेले आफ्नो कार्यकालमा ‘सीएनआई इग्नाइट’लाई मुख्य परियोजनाका रूपमा सञ्चालन गर्ने बताए। उनले युवा उद्यमीको क्षमता विकाससँगै समुदाय केन्द्रित रचनात्मक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिए।

You may also like