घट्टेखोलामा पहिरोको जोखिम, मर्स्याङ्दी आसपासका बस्तीलाई सुरक्षित स्थानमा सर्न आग्रह

by समतल अनलाइन
22Shares

लमजुङ। मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झर्ने क्रम नरोकिएपछि मर्स्याङ्दी नदीमा जुनसुकै बेला ठूलो बाढी आउन सक्ने जोखिम बढेको छ। जोखिमलाई ध्यानमा राख्दै लमजुङतर्फ मर्स्याङ्दी नदी आसपासका बस्तीका स्थानीयवासीलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ।
लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालका अनुसार आइतबार साँझ करिब ७ बजेदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी नदी आसपासका बस्तीमा माइकिङ गरिएको हो। खुदी, भकुण्डे, पाउदीलगायत क्षेत्रका बासिन्दालाई घरमा नबस्न र सुरक्षित स्थानमा जान आग्रह गरिएको उनले बताए।
प्रजिअ खनालका अनुसार हाल मर्स्याङ्दी नदीमा पानीको बहाव केही घटेको भए पनि मनाङतर्फ घट्टेखोलामा पहिरो झर्ने क्रम जारी छ। पहिरोका कारण खोला थुनिएर एक्कासि ठूलो बाढी आएमा नदी आसपासका बस्तीमा क्षति पुग्न सक्ने उच्च जोखिम रहेको प्रशासनले जनाएको छ।
“अहिले पानीको बहाव केही कम भएको छ। तर माथिल्लो क्षेत्रमा घट्टे खोलामा पहिरो झरिरहेको छ। कुनै पनि बेला खोला थुनिन सक्छ। थुनिएर ठूलो बाढी आएमा नदी आसपासका बस्तीमा क्षति हुनसक्ने उच्च जोखिम भएकाले सावधानी अपनाइएको हो,” प्रजिअ खनालले भने।
पाउदीलगायत केही स्थानमा यसअघि नै बाढीको प्रभाव देखिएको प्रशासनले जनाएको छ। तत्काल ठूलो समस्या नदेखिए पनि घट्टेखोला थुनिएर पानी एक्कासि बगेमा जोखिम थप बढ्न सक्ने भएकाले नदी आसपासका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको खनालले बताए।
जोखिमलाई मध्यनजर गर्दै ७० मेगावाटको मध्य मर्स्याङ्दी र ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी जलविद्युत् आयोजनालाई गेट खोलेर पानी निकास गर्न तथा विद्युत् उत्पादन बन्द गर्न आग्रह गरिएको छ। प्रशासनको आग्रहअनुसार आयोजनाबाट पानी निकास भइरहेको जनाइएको छ।
त्यसैगरी, विभिन्न निर्माणाधीन जलविद्युत् आयोजनामा कार्यरत व्यक्तिहरूलाई समेत आयोजना क्षेत्र छाडेर सुरक्षित स्थानमा बस्न लगाइएको छ।
प्रशासनले मर्स्याङ्दी नदी आसपासका बासिन्दालाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

You may also like