नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा बनेको मोटरेबल पुलको नवलपुरतर्फको पहुँचमार्ग (एप्रोच रोड) बाढीले बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार पुलको पहुँचमार्ग बगाएपछि बौदीकाली गाउँपालिका–२ डेढगाउँ र तनहुँको घिरिङ गाउँपालिका जोड्ने गण्डकी प्रदेशमार्गको सम्पर्क विच्छेद भएको छ ।
अविरल वर्षापछि आज कालीगण्डकी नदीमा आएको बाढीको कटानका कारण पुलको नवलपुरतर्फको जगसमेत कटान भएको हुँदा सवारीसाधन एवं पैदलयात्रुको समेत आवागमन अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिए।
नवलपुरको डेढगाउँ हुँदै तनहुँको भिमाद र पोखरा जोड्ने यस गण्डकी प्रदेशमार्ग हुँदै दैनिक रूपमा स्थानीय बासिन्दा स्याङ्जा, पोखरा, तनहुँ, नवलपुर र पाल्पा आवतजावत गर्ने गरेका थिए । यो सडक प्रदेश राजधानी पोखरासँग नवलपुरलाई जोड्ने सबैभन्दा छोटो सडक हो ।

