भोटेकोशी बाढी : एक हजारभन्दा बढी कर्मचारी सम्पर्कविहीन, विद्युत् पुनःस्थापनासँगै उद्धार तीव्र

by समतल अनलाइन
38Shares

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका मानवीय तथा विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेपछि उद्धार, राहत र विद्युत् सेवा पुनःस्थापनाको काम तीव्र पारिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले सुरक्षा निकायसँगको समन्वयमा प्रभावित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका काम अघि बढाइरहेका छन् ।

ऊर्जा मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार बाढी र प्रतिकूल मौसमबाट प्रभावित जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा आवश्यक प्राविधिक जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गरिएको छ ।
उनका अनुसार नुवाकोटका करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् आपूर्ति पुनःसुचारु भइसकेको छ भने रसुवाको धुन्चेमा विद्युत् लाइन सञ्चालनका लागि काम भइरहेको छ ।

सम्भावित थप बाढीको जोखिमलाई ध्यानमा राख्दै जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई पूर्वसूचना दिन दुई लाखभन्दा बढी एसएमएस अलर्ट पठाइएको मन्त्रालयले जनाएको छ । स्थानीय बासिन्दालाई सतर्क रहन तथा जोखिम बढे सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह गरिएको छ ।

बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धारका लागि आवश्यक सामग्री, उपकरण र दक्ष जनशक्तिसहित थप हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। यस क्रममा रसुवागढी जलविद्युत् केन्द्रमा फसेका भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझीलाई प्रतिकूल मौसमका बीच सकुशल उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा फसेकाहरूको उद्धारका लागि आवश्यक तयारी र समन्वय भइरहेको छ । ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रको भूमिगत पावरहाउसमा मर्मतका क्रममा फसेका कर्मचारीको उद्धारका लागि विशेष अभियान सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ ।

पावरहाउस प्रवेश गर्ने केबल टनेलको मुख बाढी र पहिरोका कारण पुरिएपछि नेपाली सेना र दक्ष प्राविधिकको समन्वयमा उत्खनन उपकरण प्रयोग गरी बाटो खुलाउने काम भइरहेको छ ।

नेपाली सेनाले लाङटाङ भोटेकोशी जलविद्युत् आयोजनाको सुरुङमा फसेका २५ जना कामदार तथा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलमा फसेका व्यक्तिसहित करिब ३५० जना मजदुर तथा स्थानीयको उद्धार गरिसकेको मन्त्रालयले जनाएको छ ।
टनेलभित्र अझै सयभन्दा बढी व्यक्ति फसेको प्रारम्भिक जानकारी रहेकाले उनीहरूको उद्धारका लागि सुरक्षा टोली निरन्तर परिचालित रहेको बताइएको छ ।

यसैबीच, बाढी प्रभावित जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा मजदुरको अवस्थाबारे ऊर्जा मन्त्रालयले सम्बन्धित आयोजनाका व्यवस्थापक, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिसँग समन्वय गरी विवरण अद्यावधिक गरिरहेको छ ।

मन्त्रालयका अनुसार प्रारम्भिक विवरणमा प्रभावित क्षेत्रमा कार्यरत एक हजारभन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन छन्। उनीहरूको खोजी तथा उद्धारका लागि सुरक्षा टोली परिचालन गरिएको छ । रातिको समयमा समेत खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सुरक्षाकर्मीलाई २०० थान हेडल्याम्प र ९०० थान ब्याट्री उपलब्ध गराइएको छ ।

मन्त्रालयले बाढी प्रभावित जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा मजदुरको जीवनरक्षा र सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखिएको जनाएको छ। आवश्यकताअनुसार थप हेलिकप्टर, उद्धार तथा राहत सामग्री, उपकरण र जनशक्ति प्रभावित क्षेत्रमा परिचालन गरिने मन्त्रालयको भनाइ छ ।

बाढीबाट क्षतिग्रस्त विद्युत् संरचनाको पुनःस्थापनासँगै प्रभावित आयोजना तथा टनेलमा फसेका कर्मचारी र मजदुरको उद्धारलाई समानान्तर रूपमा अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

You may also like