नुवाकोटको विदुरमा बाढीको वितण्डा, २०० भन्दा बढी नागरिक सम्पर्कविहीन

by समतल अनलाइन
52Shares

काठमाडौँ । नुवाकोटको विदुर नगरपालिकाका विभिन्न क्षेत्रमा आएको बाढीका कारण जनजीवन प्रभावित बनेको छ। बाढीका कारण २०० भन्दा बढी नागरिक सम्पर्कविहीन भएको प्रारम्भिक विवरण प्राप्त भएको स्थानीय प्रशासनले जनाएको छ।

विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीका अनुसार शुक्रबार बिहान विद्यालयमा आश्रय लिइरहेका बालबालिकाको तीन चरणमा हेलिकप्टरमार्फत उद्धार गरिएको छ। विदुर नगरपालिका–१२ मानेढुङ्गामा रहेका बालबालिकालाई हेलिकप्टरबाट उद्धार गरिएको हो।

बाढीका कारण सडक तथा आवागमनका संरचनामा क्षति पुगेपछि खोलापारिका बस्तीमा उद्धार तथा राहत सामग्री पुर्‍याउन कठिनाइ भएको उपमेयर बोगटीले बताइन्।

‘खोलापारिका क्षेत्रमा भने उद्धार तथा राहतका लागि पुग्न कठिन भइरहेको छ,’ उनले भनिन्, ‘बाढीले सडक तथा आवागमनका संरचनामा क्षति पुर्‍याएका कारण खोलापारिका बस्तीमा खाद्यान्नलगायत अत्यावश्यक सामग्री पुर्‍याउन समस्या भएको हो।’

नगरपालिकाका अनुसार विदुरका विभिन्न वडा बाढीबाट प्रभावित भएका छन्। वडा नम्बर १ को त्रिशूली र ढुङ्गे, वडा नम्बर ४ को सिन्चौर, वडा नम्बर ५ को देवीघाट, वडा नम्बर ७ का सोलेबजार, सीतापाइला र अक्करे, वडा नम्बर ९ को सिमचण्डी तथा वडा नम्बर १० को बेत्रावती र भैँसेबजार क्षेत्र प्रभावित भएका छन्।

बाढीपछि अहिलेसम्म २०० भन्दा बढी नागरिक सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण आएको उपमेयर बोगटीले बताइन्। परिवारका सदस्यले दिएको सूचनाका आधारमा उनीहरू सम्पर्कमा नरहेको बताइएको छ। यद्यपि, यो प्रारम्भिक विवरण भएकाले थप विवरण संकलन भइरहेको नगरपालिकाले जनाएको छ।

बाढी प्रभावितका लागि खोलावारिका क्षेत्रमा अस्थायी सेल्टर व्यवस्थापन गरिए पनि खोलापारिका क्षेत्रमा खाद्यान्न तथा राहत सामग्री पुर्‍याउन चुनौती देखिएको छ। किस्पाङ गाउँपालिकाका उपाध्यक्षले समेत उपलब्ध स्रोतसाधनले तत्कालका लागि आजसम्म मात्र धान्न सकिने जानकारी गराएको बोगटीले बताइन्।

यी स्थानमा बनाइएको छ सेल्टर
विदुर नगरपालिकाले बाढी प्रभावितलाई सुरक्षित राख्न विभिन्न स्थानमा अस्थायी सेल्टर सञ्चालनमा ल्याएको छ। वडा नम्बर २ को किरियापुत्री भवन, वडा नम्बर ४ को हावाघर, वडा नम्बर ५ को आयुर्वेदिक अस्पताल र चन्द्रज्योति माध्यमिक विद्यालयमा सेल्टर सञ्चालन गरिएको छ।

त्यस्तै, वडा नम्बर १२ मा महेन्द्र माध्यमिक विद्यालय, वीरेन्द्र माध्यमिक विद्यालय तथा कोलोनी कभर्ड हलमा प्रभावितलाई राखिएको छ। तुप्चेमा पनि स्थानीयस्तरमा शिविर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका अधिकारीहरूले विपद्को अवस्था निकै गम्भीर रहेकाले स्थानीय सरकारको मात्रै स्रोतसाधनबाट उद्धार, राहत तथा पुनःस्थापनाको काम अघि बढाउन सम्भव नरहेको बताएका छन्।

‘यति ठूलो विपत्तिमा स्थानीय सरकारको मात्र स्रोतसाधनले धान्न सम्भव छैन,’ उपमेयर बोगटीले भनिन्।

उनका अनुसार तत्काल उद्धार, खाद्यान्न, स्वास्थ्य सेवा तथा अन्य राहत सामग्रीका लागि संघीय सरकार, प्रदेश सरकार, सुरक्षा निकाय तथा विभिन्न संघसंस्थाको सहयोग आवश्यक देखिएको छ।

You may also like