धादिङ । धादिङबाट रसुवाको गोसाइँकुण्ड गएका २८ जना बुधबार बिहानदेखि सम्पर्कविहीन भएका छन्। रसुवाको टिमुरे नाकामा चीनको तिब्बततर्फबाट आएको बाढीपछि उनीहरू सम्पर्कविहीन भएको जनाइएको छ।
नीलकण्ठ नगरपालिकाका उपमेयर दीपक विश्वकर्माका अनुसार सम्पर्कविहीन हुनेमा नीलकण्ठ नगरपालिकाका वडा नम्बर ३, ९ र १२ तथा सिद्धलेक गाउँपालिका–१ का स्थानीय छन्। उनीहरू बुधबार बिहान धादिङबाट गाडी रिजर्भ गरेर गोसाइँकुण्डतर्फ गएको बताइएको छ।
उपमेयर विश्वकर्माका अनुसार नीलकण्ठ–१२ का दयाराम लम्साल, सीता लम्साल, ठाकुर लम्साल, शारदा लम्साल, प्रकाश लम्साल, इन्दिरा लम्साल, नीलकण्ठ–९ का राम लम्साल, जानुका लम्साल, कृष्णप्रसाद खनाल, राधिका खनाल, रामचन्द्र खनाल, भगवती खनाल, शिवहरि लम्साल, गायत्री लम्साल, नारायणप्रसाद लम्साल, सीता लम्साल, राजन लम्साल र न्याउरी लम्साल सम्पर्कविहीन छन्।
त्यस्तै नीलकण्ठ नगरपालिका–३ का सीता तिवारी, तुल्सी तिम्ल्सिना र ईश्वरी तिमिल्सिना तथा सिद्धलेक गाउँपालिका–१ का हरिप्रसाद सिलवाल, बिन्दा सिलवाल, घनश्याम भट्ट र कल्पना भट्ट पनि सम्पर्कविहीन रहेको जनाइएको छ।
प्रशासनसँग समन्वय गरी उनीहरूसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको उपमेयर विश्वकर्माले बताए।
धादिङका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले पनि धादिङ बजार क्षेत्रबाट गोसाइँकुण्ड गएका व्यक्तिहरू सम्पर्कमा नआएको पुष्टि गरेका छन्। उनका अनुसार एउटा गाडीमा २०/२२ जनाभन्दा बढी मानिस गएको जानकारी आएको छ।
यसैबीच, बस चालक नीलकण्ठ–१२ का छबिलाल श्रेष्ठ पनि सम्पर्कविहीन रहेको बताइएको छ।

