भदौ २४ देखि सभापतिलाई मार्न मात्रै बाँकी नराखी सुरु भएको रोडम्याप जारी छ : पूर्णबहादुर खड्का

by समतल अनलाइन
42Shares

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षका नेता पूर्णबहादुर खड्काले तराई–मधेशमा हालै भएको घटनालाई ‘ट्रेलर’ मात्रै भएको बताएका छन्। उनले अझ ठूलो परिस्थिति आउन सक्ने संकेत गर्दै त्यसबाट जोगिन कांग्रेस एकताबद्ध हुनुपर्ने बताए।

शुक्रबारदेखि सुरु भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै खड्काले भदौ २४ गतेदेखि सुरु भएको राजनीतिक घटनाक्रम अझै नरोकिएको दाबी गरे। ‘हामीले भदौ २४ गते सम्झियौँ भने हाम्रो सभापतिलाई मार्न मात्रै बाँकी नराखी त्यो दिनबाट सुरु भएको रोडम्याप जारी छ। चाहे विशेष महाधिवेशनको नाममा होस्, चाहे २१ फागुनको चुनावको नाममा होस्,’ उनले भने, ‘त्यसलाई रोक्न सकेनौँ भने मधेशमा हालै भएको जातीय द्वन्द्वको घटनाले देशलाई थरथर बनाएको अवस्था छ। मेरो अन्तरआत्माले भन्छ, त्यो ट्रेलर हो। फिल्मको सुटिङ हुनै बाँकी छ।’

खड्काले नेपालको राष्ट्रियता खतरामा रहेको दाबी गर्दै त्यसको रक्षाका लागि नेपाली कांग्रेसको एकता पहिलो शर्त भएको बताए। ‘नेपालको राष्ट्रियतामा खतरा छ। त्यसलाई जोगाउनका लागि पहिलो शर्त हो नेपाली कांग्रेसको एकता। नवीन, संगीन जिम्मेवारीमा नेपाली कांग्रेस उभिएको छ,’ उनले भने।

उनले सबै राष्ट्रवादी शक्तिलाई एकताबद्ध गर्दै छिमेकी मुलुकसँग सम्बन्धमा ध्यान पुर्‍याएर अघि बढ्न कांग्रेसको भूमिका आवश्यक रहेको बताए।

‘यदि हामीले सबै राष्ट्रवादीलाई एकताबद्ध बनाएर हाम्रा छिमेकीसँग ध्यान पुर्‍याएर अघि बढ्न सकेनौँ भने भदौ २४ भन्दा ठूलो स्थिति आउने देखिन्छ। त्यसका लागि कांग्रेस एकताबद्ध हुन जरुरी छ,’ खड्काले भने।

You may also like