देउवा आउनेबित्तिकै भेला सफल भयो, हाम्रो सभापति उहाँ नै हो : डा. शशांक कोइराला

by समतल अनलाइन
40Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा राष्ट्रिय भेला आयोजक समितिका संयोजक शशांक कोइरालाले कांग्रेसलाई एकजुट बनाउन राष्ट्रिय भेला आयोजना गर्नुपरेको बताएका छन्।

शुक्रबार काठमाडौंको सुकेधारामा आयोजित राष्ट्रिय भेलाको उद्घाटन कार्यक्रममा बोल्दै कोइरालाले कांग्रेस एकजुट भए कसैले पनि पराजित गर्न नसक्ने दाबी गरे। ‘यो भेला किन आयोजना गर्नुपर्‍यो? किनभने कांग्रेसलाई एकजुट बनाउनु मेरो कर्तव्य हो। एकजुट भएका खण्डमा कांग्रेसलाई कसैले पनि पराजित गर्न सक्दैन,’ उनले भने।

कोइरालाले आफूहरूको नेता र सभापति शेरबहादुर देउवा नै भएको स्पष्ट पारे। ‘हाम्रो नेता र सभापति शेरबहादुर देउवाजी नै हो। उहाँकै नेतृत्वमा नेपाली कांग्रेस हिँड्छ,’ उनले भने।

देउवा राष्ट्रिय भेलामा सहभागी हुन आउनेबित्तिकै कार्यक्रम पूर्ण रूपमा सफल भएको कोइरालाले दाबी गरे। विभिन्न जिल्लाबाट नेता–कार्यकर्ता सहभागी भएको उल्लेख गर्दै उनले व्यवस्थापनमा भएका कमीकमजोरीप्रति माफीसमेत मागे।

‘धेरै जिल्लाबाट साथीहरू आउनुभएको छ। राम्रो खाना खुवाउन सकिएको छैन, सकेको गर्छौं। भेलाका कमीकमजोरीप्रति माफी माग्छु। देउवा आउनेबित्तिकै यो भेला पूर्ण सफल भइसकेको छ,’ उनले भने। कोइरालाले पूर्वप्रधानमन्त्री तथा कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले शेरबहादुर देउवालाई ‘पश्चिमको राजकुमार’ भन्ने गरेको प्रसंग पनि सुनाए।

‘शेरबहादुरजी पश्चिमको राजकुमार भनेर बीपी कोइराला भन्नुहुन्थ्यो। देउवा पहिलो पटक बनारस आउँदा बीपीले शेरबहादुरजीलाई घुमाइदे, शशांक भन्नुभएको थियो। के गर्ने भनेर मैले तीनवटा सिनेमा एकै दिनमा हेर्न लगाएको थिएँ,’ उनले भने।

सिनेमा हेरेको कुरा आफूले बीपीलाई सुनाउँदा उनले चलचित्रका निर्देशक र त्यसको सन्देशबारे प्रश्न गरेको र देउवाले चलचित्रबारे हुबहु जवाफ दिएको पनि कोइरालाले स्मरण गरे। त्यसैगरी, उनले कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले देउवालाई नेपाल फर्काउन आफूलाई आग्रह गरेको प्रसंग पनि सुनाए।

‘गिरिजाबाबुले शेरबहादुरलाई बोलाऊ भन्नुभयो। उहाँ त्यसबेला लन्डनमा हुनुहुन्थ्यो। यहाँ परिवर्तन भयो, फर्किनुस् शेरबहादुरजी भनेर मैले भनेँ। उहाँ आउनुभयो पनि। नेपाल आउनेबित्तिकै प्रधानमन्त्री बन्नुभयो,’ कोइरालाले विगत सम्झिँदै भने, ‘शेरबहादुरको भाग्य यति राम्रो छ, आउनेबित्तिकै प्रधानमन्त्री बन्नुभयो।’

You may also like