ईक्यान रुपन्देही र नियोपोलीस युनिभर्सिटी पाफोस साइप्रसबीच अन्तरक्रिया सम्पन्न, साइप्रसमा उच्च शिक्षाका अवसरबारे छलफल

by समतल अनलाइन
32Shares

बुटवल। नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देहीको आयोजना तथा नियोपोलीस युनिभर्सिटी पाफोस, साइप्रसको सहजीकरणमा साइप्रसमा उच्च शिक्षाका अवसर, शैक्षिक गुणस्तर तथा नेपाली विद्यार्थीहरूको सम्भावनाबारे केन्द्रित अन्तरक्रिया तथा भेटघाट कार्यक्रम बिहीबार बुटवलमा सम्पन्न भएको छ।

कार्यक्रममा साइप्रसमा उच्च शिक्षाको बढ्दो आकर्षण, अन्तर्राष्ट्रिय मान्यता प्राप्त शैक्षिक प्रणाली, अनुसन्धानमुखी अध्ययन, आधुनिक शिक्षण पद्धति तथा अध्ययनसँगै प्राप्त हुने अन्तर्राष्ट्रिय अवसरका विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागी शैक्षिक परामर्श व्यवसायीहरूले नेपाली विद्यार्थीहरूलाई गुणस्तरीय र विश्वसनीय शैक्षिक गन्तव्य छनोट गर्न आवश्यक जानकारी आदानप्रदान गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै ईक्यान रुपन्देहीका अध्यक्ष गोविन्द बस्नेतले विश्वस्तरीय शिक्षा प्राप्त गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि साइप्रस उत्कृष्ट गन्तव्यका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै सही सूचना, पारदर्शी परामर्श र जिम्मेवार शैक्षिक सेवामार्फत विद्यार्थीहरूलाई लाभान्वित गराउन ईक्यान सदैव प्रतिबद्ध रहेको बताए।

त्यसैगरी, नियोपोलीस युनिभर्सिटी पाफोसका कन्ट्री म्यानेजर सुमन अधिकारीले विश्वविद्यालयले प्रदान गर्दै आएका शैक्षिक कार्यक्रम, अन्तर्राष्ट्रियस्तरको शिक्षण प्रणाली, अनुसन्धानका अवसर तथा नेपाली विद्यार्थीहरूका लागि उपलब्ध सुविधाबारे जानकारी गराएका थिए। उनले गुणस्तरीय शिक्षा र अन्तर्राष्ट्रिय करियर निर्माणका लागि साइप्रस उपयुक्त गन्तव्य बन्दै गएको धारणा व्यक्त गरे।

कार्यक्रममा ईक्यान रुपन्देहीका सचिव उपेन्द्र यादवले कार्यक्रम सञ्चालन गरेका थिए भने ईक्यान रुपन्देहीका कोषाध्यक्ष राम खरेलले स्वागत मन्तव्य राखेका थिए।

ईक्यान रुपन्देहीले यस्ता अन्तरक्रियात्मक कार्यक्रममार्फत अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग सहकार्य विस्तार गर्दै नेपाली विद्यार्थीहरूलाई विश्वसनीय, गुणस्तरीय तथा तथ्यमा आधारित शैक्षिक जानकारी उपलब्ध गराउने विश्वास व्यक्त गरेको छ।

You may also like