विद्यालय परिसरमा मदिरा र सुर्तीजन्य पदार्थ बेच्न नपाइने, बुटवल उपमहानगरको कडा निर्देशन

by समतल अनलाइन
43Shares

बुटवल। बुटवल उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई विद्यालय परिसर तथा विद्यालयले सञ्चालन गरेका सटरहरूमा मदिराजन्य तथा सुर्तीजन्य पदार्थको बिक्री–वितरण तत्काल बन्द गर्न निर्देशन दिएको छ।

प्रमुख प्रशासकीय अधिकृत दीपक झवालीद्वारा जारी पत्रमा विद्यालय परिसरमा मदिरा र सुर्तीजन्य पदार्थ बिक्री–वितरण भइरहेको विषयमा व्यापक जनगुनासो आएको उल्लेख गर्दै यसले विद्यार्थीहरूको स्वास्थ्य, अनुशासन र पठनपाठनमा प्रत्यक्ष नकारात्मक असर पारेको जनाइएको छ। उपमहानगरले सबै विद्यालयलाई तत्काल यस्ता गतिविधि रोक्न आग्रह गर्दै नियमित अनुगमन गरिने र उल्लंघन भए प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।

नगर प्रमुख खेलराज पाण्डेले भने, विद्यालय ज्ञान आर्जन गर्ने पवित्र स्थल हो, व्यापारिक रूपमा मदिरा र सुर्तीजन्य पदार्थको बिक्री हुने स्थान होइन। विद्यार्थीको स्वास्थ्य र भविष्यसँग जोडिएको विषय भएकाले विद्यालय परिसरमा यस्ता वस्तुको बिक्री–वितरण कुनै पनि हालतमा स्वीकार्य हुँदैन। उपमहानगरले यसलाई कडाइका साथ कार्यान्वयन गराउनेछ र नियम उल्लंघन गर्नेलाई कानुनबमोजिम कारबाही गरिनेछ।

उपमहानगरपालिकाले यस सम्बन्धमा इलाका प्रशासन कार्यालय बुटवल, इलाका प्रहरी कार्यालय बुटवल तथा सबै वडा कार्यालयलाई समेत जानकारी गराउँदै प्रभावकारी अनुगमनका लागि समन्वय गर्न अनुरोध गरेको छ।

विद्यालय क्षेत्रलाई सुरक्षित, स्वस्थ र विद्यार्थीमैत्री बनाउने उद्देश्यले उपमहानगरले यो निर्णय कार्यान्वयनमा ल्याएको जनाएको छ।

You may also like