बुटवलमा राष्ट्रिय गीतसँगै संयुक्त सद्भाव र्याली, शान्ति र सामाजिक एकताको सन्देश

by समतल अनलाइन
42Shares

बुटवल । शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले बुटवलमा बुधबार संयुक्त सद्भाव र्याली आयोजना गरिएको छ।

राज-ए मुस्तफा मस्जिद समिति, माजिना मदरसा मस्जिद र एमआरआर (MRR) बुटवलको संयुक्त आयोजनामा सम्पन्न र्याली राजमार्ग चौराहबाट सुरु भई ट्राफिक चोकसम्म पुगेको थियो।

र्यालीमा सहभागीहरूले नेपालको राष्ट्रिय गीत ‘रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो’ गाएर राष्ट्रिय एकता, आपसी सम्मान र सामाजिक सद्भावको सन्देश दिएका थिए। विभिन्न समुदायका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको र्यालीमा राष्ट्रिय झण्डासहित शान्तिपूर्ण रूपमा नगर परिक्रमा गरिएको थियो।

आयोजकहरूले विविध धर्म, संस्कृति र समुदायबीच आपसी विश्वास, सहिष्णुता र भाइचारालाई थप मजबुत बनाउने उद्देश्यले सद्भाव र्याली आयोजना गरिएको बताएका छन्। उनीहरूका अनुसार यस्ता कार्यक्रमले समाजमा एकता, शान्ति र पारस्परिक सम्मानको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

र्यालीलाई सुरक्षित र व्यवस्थित बनाउन नेपाल प्रहरी तथा ट्राफिक प्रहरीले आवश्यक सुरक्षा व्यवस्था मिलाएको थियो। कार्यक्रम शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

You may also like

This will close in 0 seconds