काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा हालै भएको घटना र त्यसपछि विकसित शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्। भेटमा सुनसरीको पछिल्लो सुरक्षा अवस्था, देखिएका चुनौती, सुरक्षा निकायले चालेका कदम तथा सम्भावित जोखिमबारे विस्तृत जानकारी गराइएको थियो।
ब्रिफिङपछि प्रधानमन्त्री शाहले सुनसरीको परिस्थितिलाई तत्काल नियन्त्रणमा लिन, सर्वसाधारणको जिउधनको सुरक्षा सुनिश्चित गर्न तथा सामाजिक सद्भाव बिथोल्ने उद्देश्यले सक्रिय हुने तत्त्वहरूमाथि कडा निगरानी राख्न निर्देशन दिएका छन्।
उनले शान्ति–सुरक्षा कायम राख्ने विषयमा कुनै पनि किसिमको सम्झौता नगर्न स्पष्ट निर्देशन दिँदै गृह मन्त्रालय मातहतका नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उच्च सतर्कताका साथ प्रभावकारी रूपमा परिचालन गर्न आग्रह गरेका छन्।
प्रधानमन्त्रीले सुरक्षा निकायलाई कानुनको निष्पक्ष कार्यान्वयन गर्दै नागरिकमा सुरक्षा र विश्वासको वातावरण कायम गर्न आवश्यक सबै कदम चाल्न पनि निर्देशन दिएका छन्।


