गोपालमान श्रेष्ठको शोकमा कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने, १४ गते सबै कार्यालय बन्द

by समतल अनलाइन
62Shares

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। बुधबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले श्रेष्ठको सम्मानमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

उनका अनुसार साउन १३ देखि १५ गतेसम्म कांग्रेसका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाइनेछ। त्यस्तै, साउन १४ गते पार्टीका सबै कार्यालय बन्द गर्ने निर्णय गरिएको छ। श्रेष्ठको स्वर्गारोहणको १३ दिनसम्म केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राखिने पनि कांग्रेसले जनाएको छ।

कांग्रेसले १३ औँ दिनमा श्रेष्ठको गृह जिल्ला स्याङ्जास्थित कालिगण्डकी राम्दीघाटमा अस्तु विसर्जन गर्ने र जिल्लामा शोक सभा आयोजना गर्ने निर्णयसमेत गरेको छ।

श्रेष्ठ नेपाली कांग्रेसका वरिष्ठ नेता तथा लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय व्यक्तित्व थिए। उनको निधनप्रति कांग्रेसले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।

You may also like

This will close in 0 seconds